उपसभामुख निर्वाचनका लागि भोलि नाम दर्ता,
उपसभामुख निर्वाचनका लागि भोलि नाम दर्ता,

संसद सचिवालयले निर्धारित समय भित्र दर्ता भएका नामावली दिउँसो साढे १ बजे प्रकाशन गर्ने भएको छ। 

    • Bell Sanchar

    • २९ असार २०७९, बुधबार

शुक्रबार हुने प्रतिनिधि सभाको रिक्त रहेको उपसभामुख पदको निर्वाचनका लागि भोलि मनोनयन दर्ताका लागि मिति तोकिएको छ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले असार ३१ गते निर्वाचन गर्ने गरि निर्वाचनको कार्यतालिका प्रकाशन गर्न दिएको निर्देशन लगत्तै प्रतिनिधि सभाका सचिव गोपनाथ योगीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्।

सार्वजनिक कार्यतालिका अनुसार भोलि बिहान ११ बजेदेखि १ बजेसम्म उपसभामुख पदका लागि मनोनयन दर्ता गर्ने समय तोकिएको छ।

संसद सचिवालयले निर्धारित समय भित्र दर्ता भएका नामावली दिउँसो साढे १ बजे प्रकाशन गर्ने भएको छ।

यस्तै शुक्रबार दिउँसो ३ बजे प्रतिनिधि सभाको बैठकमा उपसभामुख  पदमा निर्वाचित गरियोस्  भनि प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामुहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका सार्वजनिक भएको छ।

तत्कालिन नेकपा एमालेबाट सभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको छ।

तत्कालिन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सापकोटा सभामुख बनेका थिए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सापकोटालाई सभामुख बनाउन शिवमाया तुम्वाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो।

२०७६ माघ ६ गते तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि अर्को उपसभामुख चयन हुन सकेको छैन।

 

साताकाे चर्चित
सम्बन्धित