मन्त्री पनि भएँ, सांसद पनि छु तर मेरो घरमा दुईथरी तरकारी बनाउने स्थिति छैन: प्रदीप ज्ञवाली
मन्त्री पनि भएँ, सांसद पनि छु तर मेरो घरमा दुईथरी तरकारी बनाउने स्थिति छैन: प्रदीप ज्ञवाली

उपमहासचिव ज्ञवालीले आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको दाबी गरे।

    • Bell Sanchar

    • २ श्रावण २०७९, सोमबार

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन्।

सोमबार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्तको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उपमहासचिव ज्ञवालीले कालो धनलाई सेतो बनाउनका लागि नै अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको बताए।

उनले अहिले गभर्नरमाथि बनाइएका बहाना भन्नेकुरा मात्रै रहेको उल्लेख गरे।

उपमहासचिव ज्ञवालीले आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको दाबी गरे।

उनले बनावटी रूपमा मूल्यवृद्धि गर्दा आम जनताको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुई थरि तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताए।

सरकारले बनावटी अभाव देखाएर किसानको मलको मागलाई पूरा गर्न नसकेको आरोप लगाए।

उनले भने, ‘अर्को खतरनाक स्थिति कालो धनलाई सेतो बनाउने जुन ढंगका प्रयासहरू भए अहिले गभर्नरमाथिको हमला त्यही त हो। हिजो उहाँहरूले हटाउने प्रयास गर्नुभएकै हो। जम्माजम्मी कारण के? कसैले ल्यायो ४० करोड रुपैयाँ बाहिरबाट, स्रोत देखाउनुस् भन्यो स्रोत देखाउन सक्दैन। १७/१८ वटा फेक कम्पनीहरू छन्। अमेरिकामा सोध्दा ती कम्पनीहरू कुनै पनि महत्व छैन। यो स्रोत गलत हो भन्छ, मन्त्रीजीले तोक लगाउनुहुन्छ, त्यो धनलाई तुरून्त फुकुवा गर्नु। त्यो गर्न नमानेबापत् राष्ट्र बैंकमाथि हमला भएको हो। अहिले बनाइएका सबै बहाना भन्ने कुरा मात्रै हुन्।’

आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको उनले बताए।

‘मैले नै घरमा हरेक पटक एकथरी तरकारी पाक्नेछ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति भयो। दुईथरी तरकारी पकाउने अवस्था मेरो छैन। मन्त्री पनि भएँ, सांसद पनि छु तर मेरो घरमा दुईथरी तरकारी बनाउने स्थिति छैन भने अरूको के होला? बनावटी अभाव मलको चर्को छ।’

उपमहासचिव ज्ञवालीले राज्य डरलाग्दो रूपमा बिचौलियाहरूको नियन्त्रणमा जान थालेको बताए।

उनले अहिलेको गठबन्धन सरकाराई राजनीतिक गठबन्धनको रूपमा व्याख्या गर्दै राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तीय गठबन्धनले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको आरोप लगाए।

उनले हातहतियारसम्बन्धी सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडिओमा उल्लेखित वाक्य र व्यक्तिको दुस्साहसले नै अहिलेको गठबन्धनको तस्बीर देखाउने बताए।

उनले भिडिओ पुरानै भएको खण्डमा पनि अहिलेको सरकारको अवस्था त्यो भन्दा फरक नरहेको जिकिर गरे।

उपमहासचिव ज्ञवालीले उक्त भिडिओले नेपालको अहिलेको कुरूप तस्बिर देखाएको बताए।

उनले राज्यले एकथरी उद्योगलाई लाभैलाभ र अर्कोथरीलाई बन्द गर्नुपर्ने अवस्थामा पुर्‍याएको बताए।

उपमहासचिव ज्ञवालीले सरकार विद्युतीय सवारी साधन मुख्य सहरमा चलाउने कुरामा गैर जिम्मेवार भएर बसिरहेको आरोप लगाए।

पछिल्लो समय बजारको अनुगमनमा पनि ध्यान नदिएको बताए।

उनले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गर्न दिई करका दर हेरफेर गरेको र सिसिटिभी फुटेज मेटाएको विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानिबन गर्ने र घटनालाई तोडमोड गर्न नदिने स्पष्ट पारे।

कार्यक्रममा एमाले नेता एवं नेकपा एमालेका उपभोक्ता हित संरक्षण तथा सुशासन विभागका अध्यक्ष यज्ञराज सुनुवार पनि उपस्थित रहेका थिए।

समितिले पछिल्लो एक वर्षमा देशका प्रमुख आर्थिक सूचकहरूको अवस्था, खाद्य तथा पेय पदार्थमा भएको मूल्यवृद्धिको अवस्था, इन्धनको मूल्यवृद्धिको अवस्था, दैनिक उपभोग्य खाद्य वस्तुको मूल्यवृद्धिको अवस्था, निर्माण सामग्रीको मूल्यवृद्धिको अवस्था र पिछडिएको क्षेत्र कर्णालीको मूल्यवृद्धिको अवस्थाका बारेमा पनि जानकारी गराइएको थियो।

साताकाे चर्चित
सम्बन्धित