देवघाटमा जग्गा नापजाँच सुरु   
देवघाटमा जग्गा नापजाँच सुरु   
    • Bell Sanchar

    • १५ श्रावण २०७९, आईतवार

दमौली, १५ साउन 

तनहुँको देवघाट गाउँपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा देवघाट–५ बाट शनिबारदेखि जग्गाको नापजाँच थालनी गरिएको हो ।

उक्त वडाको देउपुर टोल विकास संस्थाबाट जग्गा नापजाँचको कार्य गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो । यस वडामा यसअघि नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिसकिएकाले पहिलो चरणमा देउपुर टोलबाट जग्गा नापजाँच सुरु गरिएको उहाँले बताउनुभयो ।

सबैभन्दा बाक्लो बस्ती भएकाले यो टोलबाट जग्गा नापजाँचको काम सुरु गरिएको उहाँले बताउनुभयो । यो टोलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासी गरी तीन सय ५५ लाई निवेदन दर्ताको निस्सा वितरण गरिएको छ ।

वडाभर भूमिहीन दलित १९, भूमिहीन सुकुम्बासी ६२ र अव्यवस्थित बसोबासी एक हजार चार सय ५५ जना छन् । “एक महिनाभित्रमा वडाभित्र जग्गा नापजाँच सक्ने लक्ष्यसहित काम सुरु भएको छ”, उहाँले भन्नुभयो । जग्गा नापजाँचका लागि टोली प्रमुखको रूपमा नापी कार्यालय तनहुँका राजीव श्रेष्ठ खटिनुभएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ मा पनि यसअघि जग्गाको नापजाँच प्रक्रिया सुरु भएको छ । नापी कार्यालय तनहुँका प्राविधिक श्रेष्ठका अनुसार उक्त वडामा जग्गाको नापजाँच कार्य जारी छ । राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले हालसम्म शुक्लागण्डकी नगरपालिका–७, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका–१ र २, देवघाट गाउँपालिका–५ र व्यास नगरपालिका–१ र २ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको जानकारी दिनुभयो ।

जिल्लाका १० पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ । यो कामका लागि सबै अधिकार स्थानीय तहमा रहेको बताइएको छ । तथ्याङ्क दर्ता, निस्सा वितरण, सार्वजनिक सूचना जारीपश्चात् उजुरी सङ्कलनलगायतका काम हुने आयोग अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । भूमिहीन सुकुम्बासी र भूमिहीन दलितका हकमा सात दिने र अव्यवस्थित बसोबासीका हकमा १५ दिने सार्वजनिक सूचना जारी हुनेछ ।

तनहुँबाटै सवारी चालक अनुमतिपत्र नवीकरण

यातायात व्यवस्था कार्यालय तनहुँले आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरु हुने भएको छ । यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै सवारी चालक अनुमति पत्र नवीकरण हुँदै आएकामा आजबाट बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित कार्यालयबाट अनुमतिपत्र नवीकरण सुरु हुन लागेको हो ।

सवारी चालक अनुमतिपत्र जुनसुकै कार्यालयबाट जारी भएको भएता पनि सेवाग्राहीको स्थायी बसोबास गण्डकी प्रदेशभित्र भएको हुनुपर्ने निमित्त कार्यालय प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी दिनुभयो । डिएलआरएस र इडिएलभिआरएसमा रहेको विवरण पूर्णरूपमा मिलेको खण्डमा मात्र सवारी चालक अनुमतिप नवीकरण गर्न सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार सक्कल सवारी चालक अनुमतिपत्रसहित प्रतिलिपि र नेपाली नागरिकताको प्रतिलिपि समावेश गर्नुपर्नेछ ।

सरकारबाट मान्यताप्राप्त चिकित्सकबाट यातायात व्यवस्था नियमावली, २०५४ को अनुसूची १८ बमोजिमको निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने कार्यालयले जनाएको छ । सवारी चालक अनुमतिपत्र हराएको खण्डमा सम्बन्धित कार्यालयबाट नै प्रतिलिपि लिनुपर्ने जनाइएको छ । सेवाग्राहीको अनुपस्थितिमा वा विदेशमा भएको अवस्थामा अनुमतिपत्र नवीकरण हुनेछैन । सेवाग्राहीको औठाछाप नमिलेको खण्डमा लाइसेन्स नवीकरण नहुने जनाइएको छ । कागजी लाइसेन्सको हकमा स्मार्ट लाइसेन्समा रुपान्तरण भइसकेको हुनुपर्ने कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाबाटै सवारी साधन दर्तासमेत सुरु गरिसकेको छ । यो कार्यले तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज हुनेछ । कार्यालयले स्थापनाकालदेखि नै बिलबुक नवीकरणको काम गर्दै आएको छ ।

खानेपानी योजनाबाट ११६ घर लाभान्वित

तनहुँको घिरिङ गाउँपालिका–४ नयाँटारमा निर्माण सम्पन्न भएको खानेपानी योजनाबाट एक सय १६ घरधुरी लाभान्वित भएका छन् । गोरखा वेलफेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न नयाँटार खानेपानी तथा सरसफाइ आयोजनाबाट एक सय १६ घरधुरीमा पानीको सुविधा पुगेको हो ।

रु ८२ लाख १५ हजार चार सय ६१ को लागतमा योजना निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष हिना गुरुङले जानकारी दिनुभयो । योजनाका लागि वेलफेयर ट्रष्टले रु ४९ लाख नौ हजार पाँच सय ६१ र घिरिङ गाउँपालिकाले रु तीन लाख २५ हजार सहयोग गरेको छ भने स्थानीयवासीले रु २९ लाख ८० हजार बराबरको श्रमदान गरेका छन् ।

घरघरमा धारा नहुँदा खोल्सा र पँधेराको पानी उपभोग गर्न बाध्य स्थानीयवासी घरघरमा खानेपानी सुविधा पुगेपछि हर्षित भएका छन् । योजना निर्माण सम्पन्न भएपछि पाँच सय ८१ जना लाभान्वित भएका छन् । “घरघरमा धारा नहुँदा बिहानै उठेर कुवा, खोल्सामा पानी लिन जानुपर्ने बाध्यता थियो, अब त घरमै धारा खोलेपछि पानी आउँछ”, उहाँले भन्नुभयो, “खानेपानीको जोहो गर्नुपर्ने दुःख हट्यो ।”

खहरे मूलबाट पानी ल्याएर ट्याङ्कीमा सङ्कलन गरी घरघरमा पानी वितरणको व्यवस्था मिलाइएको छ । योजनाअन्तर्गत एक रिजर्भ ट्याङ्की, एक वासवाउट, सात गेट भल्व निर्माण गरिएको छ । योजना निर्माणका क्रममा आठ हजार पाँच सय ८५ मिटर पाइप विस्तार गरिएको छ । उक्त खानेपानी योजनाको शनिबार उद्घाटन गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले खानेपानी योजना निर्माणका लागि सहयोग गरेकामा वेयलफेयर ट्रष्टप्रति आभार व्यक्त गर्नुभयो । घिरिङका अधिकांश बस्तीमा खानेपानीको सुविधा पुगिसकेको र बाँकी बस्तीमा पनि खानेपानी पु¥याउने काम भइरहेको अध्यक्ष थापाले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित