अर्थमन्त्रीमा फेरि उही मान्छे, भनेपछि यो गठबन्धनसँग अरू मान्छै नै रहेनछ: केपी शर्मा ओली
अर्थमन्त्रीमा फेरि उही मान्छे, भनेपछि यो गठबन्धनसँग अरू मान्छै नै रहेनछ: केपी शर्मा ओली

उनले भने, ‘मैले उहिले पनि भनेको थिएँ–गोरु नांगो देख्दा मलाई लाज लाग्दैन भनेर।

    • Bell Sanchar

    • १७ श्रावण २०७९, मंगलवार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन्।

‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’ भनेर विगतमा आफूले भनेको उल्लेख गर्दै ओलीले शर्मालाई फेरि अर्थमन्त्री बनाउँदा भने ‘गोरु नै लजाएको’ समेत बताए।

तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली जनताको विवेक र नैतिक धरातलमाथि भिषण हमला भएको उल्लेख गर्दै आक्रोश व्यक्त गरे।

उनले भने, ‘मैले उहिले पनि भनेको थिएँ–गोरु नांगो देख्दा मलाई लाज लाग्दैन भनेर। तर यसपल्ट त गोरु पनि लजाउने काम सरकारले गर्‍यो। गोरु आफैं लजाउने।

भ्रष्टाचारको केश लाग्या छ, छानबिन समिति आफ्नै बहुमत राखेर बनाएको छ। छानबिन गर्न दिएकै छैन। छानबिन भएकै छैन। कल डिटेल्स हटाएको छ। अनि सिसिटिभी फुटेज मेटाइएको छ।

रिभाइभ गर्दा देखिँदैन, बुझिँदैन। अनि सफाइ पायो। कहाँबाट पायो सफाइ? कल डिटेल्स समेत लिन नदिएर, कल डिटेल लिन नमानेर गठबन्धनबालाहरू।’

भ्रष्टाचारको केशमा मुछिएका शर्मालाई लाजसरम नमानी अर्थमन्त्री फेरि बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले शर्माबाहेक अरू कोही पनि मान्छे गठबन्धनमा अर्थमन्त्री हुन लायक नभएको जिकिर समेत गरे।

उनले भने, ‘अनि फेरि अचम्मत के भने–लाजसरम नमानी, नेपाली जनतालाई कति साह्रो हेपेको।

नेपाली जनताको विवेक, नेपाली जनताको नैतिक धरातलमाथि कत्रो हमला? गोरु लजाउन्न क्यारे।

तर गोरु पनि लजायो। यति निर्लज्ज तरिकाले हुन्छ? फेरि उही मान्छे, भनेपछि यो गठबन्धनसँग अरू मान्छै नै रहेनछ। कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले। हामीसँग बहुमत छ, जे गरे पनि हुन्छ।

लाजसरम किन मान्ने, कसैलाई किन टेर्ने? लोकलाज किन मान्ने? कांग्रेसको भनाइ। फुटेज किन देखाउने ? कल डिटेल किन हेर्ने!’

अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपालहरूप्रति संकेत गर्दै कांग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरूसँग गठबन्धन तोडेर आएमात्रै एकता हुन सक्ने दोहोर्‍याए।

उनले नेकपा (माले)का महासचिव सिपी मैनालीलाई पार्टी एकताका निम्ति आउन आह्वान समेत गरे।

दुष्टहरूले चुनावी तालमेलको कुरा गरिरहेको भन्दै अध्यक्ष ओलीले आफूहरू भने पार्टी एकता नै गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरे।

देश र जनताको विरूद्धमा नगएकाहरूबीच एकताबद्ध भएर मुलुकलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूलाई देशद्रोहीको संज्ञा दिँदै नेपाली जनताले आगामी निर्वाचनमा सचेतनतापूर्वक आफ्नो पार्टीलाई विजयी गराउने विश्वास समेत व्यक्त गरे।

साताकाे चर्चित
सम्बन्धित