गौतमश्री सहकारीका अध्यक्ष राम गौतम भन्छन्, निजी सम्पत्ती बेचेर भएपनि बचतकर्ताको पैैसा तिर्छु
गौतमश्री सहकारीका अध्यक्ष राम गौतम भन्छन्, निजी सम्पत्ती बेचेर भएपनि बचतकर्ताको पैैसा तिर्छु
    • Bell Sanchar

    • २४ श्रावण २०७९, मंगलवार

काठमाडौँ, २४ साउन । काठमाडौँको कुलेश्वरमा सञ्चालित गौतमश्री बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमलाई बचतकर्ताले साथ दिन थालेका छन् । सहकारीका म्यानेजर रविन विष्टले गतहप्ता सहकारी संकटमा परेको एक सूचना जारी गरी फरार भएपछि व्यापारको सिलसिलामा भारतमा रहेका अध्यक्ष गौतम एक्कासी काठमाडौँ आएका थिए । भारतको राजधानी नयाँ दिल्ली रहेका अध्यक्ष गौतम उक्त समचार सुन्नासाथ एक्कासी आफ्नो व्यापारिक पाटीसँग सवारी साधन मागेर रक्सौल नाका हुँदै काठमाडौँ आएका थिए ।

“गौतमश्री सहकारीले ठगी गरेर सञ्चालक फरार रहेको समचार सुनेर आश्चार्यचकित परेँ, उक्त समचार सुनेपछि म रातारात काठमाडौँ आएको हुँ,”– उनी भन्छन् । उक्त समचार सुनेपछि आफूलाई नमज्जा लागेको गौतम बताउँछन् । “म्यानेजरले के कारणले उक्त म्यासेज प्रवाह गरे त्यो अनुसन्धानको विषय होला, गौतमश्री सरकारी र मलाई विश्वास गरेर सहकारीमा राखेको पैसा फिर्ता हुन्छ,”– अध्यक्ष गौतम भन्छन् ।

अध्यक्ष गौतमले आफू भारतबाट फर्कदा फर्कँदै कतिपय बचतकर्ताले प्रहरी र सहकारी विभागमा सहकारी र आफ्नो नामको बैँक खाता रोक्का गर्न लगाएकाले उक्त खाता फुकुवा हुनासाथ साना बचतकर्ताको बचत फिर्ता गर्ने बताए । “सहकारीको खातामा रहेको पैसाले पुगेन भने म निजी सम्पत्ती विक्रिवितरण गरेर भएपनि बचतकर्ताको पैसा फिर्ता गर्छु, बचतकर्ताहरु ढुक्क हुनुहोस्,”– उनी भन्छन् । अध्यक्ष गौतमले गरेको उक्त साहसलाई सहयोग गर्न पछिल्ला दिनमा बचतकर्ताहरु फुलको माला लिएर अध्यक्ष गौतमलाई भेट्न गौतमश्री सहकारीको केन्द्रीय कार्यालय पुग्न थालेका छन् ।

अध्यक्ष गौतम र सहकारीलाई हालेको मुद्दासमेत फिर्ता लिन बचतकर्ता लागेका छन् । बचतकर्ता भन्छन्,– “बचत गरेको पैसा ढिलोचाँडो आउँछ, सहकारी राम्रोसँग चल्नुप¥यो,” । गौतमश्री सहकारीलाई परेको दुःखमा साथ दिन ऋणीहरु समेत पछिल्लो समय गौतमश्री सहकारी पुगेका छन् ।

अध्यक्ष गौतमलाई भेटेर आफूले लिएको ऋण चाँडो तिर्ने प्रतिवद्धता जनाएका छन् । काठमाडौँको न्यूरोडमा लामो समय मोबाइल पसल सञ्चालन गरेका एक ऋणीले आफूले लिएको ऋण चाँडो तिरेर सहकारीलाई सहयोग गर्ने बताए । “मलाई दुःख परेको बेलामा सहकारीले मलाई पैसा दिएर सहयोग गरेको छ, सहकारीलाई दुःख परेको बेला मैले सहकारीलाई किन सहयोग नगर्ने, चाँडो सहकारीबाट लिएको पैसा तिर्छु,”– उनी भन्छन् । लामो समयदेखि सञ्चालन हुँदै आएको गौतमश्री सहकारीमा हाल ७ हजारभन्दा बढी बचतकर्ता रहेका छन् भने पाँच अर्बभन्दा बढी निक्षेप रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित