नेपालमा अन्तर्राष्ट्रिय उडानको इतिहास रच्ने ‘थाइ एयरवेज’ किन भयो बन्द?
नेपालमा अन्तर्राष्ट्रिय उडानको इतिहास रच्ने ‘थाइ एयरवेज’ किन भयो बन्द?

कम्पनीको आन्तरिक व्यवस्थापन, कोभिड संकट लगायत कारण उडान रोकिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

    • Bell Sanchar

    • ३ भाद्र २०७९, शुक्रबार

कोरोना महामारीपछि नेपालमा ६ वटा एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान बन्द भएको छ।

थाइ एयरवेज, जेट एयरवेज, इपिक एयरवेज, ओमन एयर, तिब्बत एयर र भुटान एयरलाइन्सको उडान हाल बन्द भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार कोभिडअघि ३२ वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्थे। यी ६ वटाको बन्द भएसँगै हाल २६ वटा एयरलाइन्सले मात्र उडान गरिरहेका छन्।

कम्पनीको आन्तरिक व्यवस्थापन, कोभिड संकट लगायत कारण उडान रोकिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

बन्द भएका यी एयरलाइन्समध्ये नेपालसँग थाइल्यान्डको थाइ एयरवेजको सम्बन्ध अरूभन्दा धेरै लामो थियो। प्राधिकरणका अनुसार ५४ वर्षअघि, नेपालमा जेट विमानमार्फत् पहिलो अन्तर्राष्ट्रिय उडान सुरू गर्ने एयरलाइन्स यही थियो।

वायु सेवा निगम (तत्कालीन समयमा शाही नेपाल वायु सेवा निगम) भन्दा दुई वर्षपछि यो एयरलाइन्स स्थापना भएको थियो। स्थापना भएको ८ वर्षपछि थाइ एयरवेजले सन् १९६८ डिसेम्बर ४ मा बैंकक-काठमाडौं पहिलो उडान गरेको थियो।

‘अन्तर्राष्ट्रिय जेट विमानले नेपालमा पहिलोपटक उडान भरेको यो नै पहिलो थियो,’ सूचना अधिकारी भुलले जानकारी दिए।

त्यसअघि सन् १९५३ मा एयर इन्डियाले पनि उडान नगरेको होइन। तर उक्त उडानमा जेट विमान थिएन। त्यस्तै त्यो चार्टर्ड उडान भएकाले नेपालमा अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सूचीमा यो नपर्ने भुल बताउँछन्।

नेपाली आकाशमा पहिलो पटक थाइ एयरवेजको अन्तर्राष्ट्रिय उडान हुँदा नेपालीहरूमा खुसी छाएको पनि भुल बताउँछन्। तर यो इतिहास बनाउने थाइ एयरवेजले कोरोना महामारीका कारण नेपाल उडान बन्द गरेको उनले जानकारी दिए।

‘कोभिडको पहिलो लहरमा चीन, जापान, बैंकक लगायत मुलुकले कडाइका साथ मापदण्ड पालना गरेका थिए,’ सूचना अधिकारी भुलले भने, ‘त्यही अन्तर्गत थाइ एयरवेज पनि पर्‍यो। उसको नेपाल यात्रा बन्द भयो।’

थाइ एयरवेजले दस वर्षसम्म सातामा एक उडान गरिरह्यो। यो कम्पनीले उडान भरिरहँदा लामो समयसम्म अन्य एयरलाइन्सले उडान गर्न सकेनन्। गन्तव्य मुलुकमा जानेहरूका लागि थाइ एयरवेज प्राथमिकतामा परेको थियो।

यात्रु संख्या बढ्दै गएपछि कम्पनीले दैनिक उडान सुरू गर्‍यो। पहिलो उडान सुरू गरेको दस वर्षपछि, सन् १९७७ मा थाइ एयरवेजले पुरानै गन्तव्यका लागि ए ३००-८०० विमानमार्फत दैनिक उडान थालेको थियो। यसले सातामा दस उडानसम्म गरेको अभिलेख छ।

‘समय तालिकाअनुसार नियमित उडान गर्नमा थाइ एयरवेज नम्बर एक थियो,’ सूचना अधिकारी भुल भन्छन्, ‘यात्रु संख्या पनि सधैंजसो ९० प्रतिशत माथि हुन्थ्यो।’

यसरी दुई दशक लामो समय थाइ एयरवेजले राज नै गर्‍यो।

प्राधिकरणको अभिलेखअनुसार थाइ एयरवेजले नै नेपालमा पहिलोपटक कम्प्युटरमार्फत् टिकट रिजर्भ गर्ने प्रणाली सुरू गरेको थियो। सन् १९८५ मा सुरू गरेको यो प्रणाली पाँच वर्षपछि उसले टिकट ट्राभल एजेन्टहरूलाई दियो।

यो एयरलाइन्ससँग सिल्क क्लास लाउन्ज, आफ्नै ग्राउन्ड ह्यान्डलिङ सिस्टम र होलिडे प्याकेजहरू थिए। यसले पनि थाइ एयरवेजलाई आकर्षक बनाएको थियो।

तर सन् १९९२ थाइ एयरवेजका लागि दुखद वर्ष रह्यो। उक्त वर्ष जुलाई ३१ मा थाइ एयरवेजको विमान दुर्घटना भएको थियो। बैंककको सुवर्णभूमि विमानस्थलबाट काठमाडौं उडेको उसको विमान नुवाकोटको घ्याङफेदीमा खस्यो। दुर्घटनामा चालक दलका सदस्यसहित एक सय १३ जनाले ज्यान गुमाएका थिए।

दुर्घटनापछि कम्पनीले नेपाल उडान रोक्यो। त्यति बेलै नेपाली आकाशमा कतार एयरवेज थपियो। थाइ एयरवेज नेपाल भित्रिएको करिब २७ वर्षपछि कतार एयरवेजले उडान सुरू गरेको थियो। सन् १९९५ देखि कतार एयरवेजले नियमित उडान थालेको हो।

सन् १९९८ मा आएर थाइ एयरवेजलाई फेरि नेपालको आकाशमा उड्ने बाटो खुल्यो। नेपाल सरकारले पर्यटन प्रर्वद्धनका लागि सन् १९९८ लाई भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो। दुर्घटनापछि रोकिएको थाइ एयरवेजको यात्रा नेपाल भ्रमण वर्षसँगै फेरि सुरू भयो।

करिब ६ वर्षपछि थाइ एयरवेज बी ७७-२०० विमानमार्फत नेपालमा पुनः उडान थाल्यो।

त्यसयता निरन्तर उडान गरिरहेको थाइ एयरवेजले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत रहेर विभिन्न काम समेत गरेको प्राधिकरणले जनाएको छ। यो एयरवेजले रक्तदान कार्यक्रमदेखि मोतिविन्दु शल्यक्रिया शिविर र विभिन्न अनाथ विद्यालयलाई सहयोग गरेको अभिलेख छ।

बीचमा अवरोध आए पनि थाइ एयरवेजले ५२ वर्षसम्म नेपालमा उडान गर्‍यो।

कोभिड फैलिएपछि २०७६, चैत ११ बाट नेपालमा लकडाउन भयो। हवाइ उडान बन्द भयो। यही महामारीले थाइ एयरवेजलाई पनि थलायो।

प्राधिकरणका अनुसार २०७६, चैत ८ मा थाइ एयरवेजले अन्तिम उडान गरेको थियो। त्यो समयसम्म आइपुग्दा थाइ एयरवेजले ३४ जना नेपालीलाई स्थायी रूपमा रोजगारी दिएको थियो। त्यस्तै ७० जनाभन्दा बढी नेपालीले उक्त्त एयरवेजमा काम गरी अवकाश पाएको प्राधिकरणले बताएको छ।

कोभिड मत्थर भएसँगै रोकिएका उडान सुरू भए। अहिले थुप्रै मुलुकका वायुसेवा कम्पनीले नेपाललाई गन्तव्य बनाएर उडानका लागि चासो दिइरहेका छन्। कोभिडका कारण बन्द भएकाले पनि सुरू गर्न प्राधिकरणसँग समन्वय गरिरहेका छन्। थाइ एयरवेजले भने तत्काल नेपालका लागि उडान गर्ने सम्भावना नदेखिएको प्राधिकरणका सूचना अधिकारी भुल बताउँछन्।

‘अहिले पनि विभिन्न मुलुकले कोभिडसम्बन्धी स्वास्थ्यका मापदण्डमा कडाइ गरिरहेका छन्,’ उनले भने, ‘थुप्रै मुलुकले रोकिएका उडान नियमित गर्न र नयाँ उडान गर्न अनुमति लिइरहेका छन्। तर थाइ एयरवेजले तत्काल उडान गर्ने सम्भावना देखिँदैन।’

हाल बैंकक-काठमाडौं नियमित उडानमा थाइ स्माइल सक्रिय छ। थाइ स्माइलले गत असार १७ बाट मात्र उडान थालेको हो। बैंककमा मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाइ स्माइल थाइ एयरवेजकै भगिनी संस्था हो।

थाइ एयरवेजले उडान सेवाशुल्क बापत २२ लाख रूपैयाँ बक्यौता तिर्न बाँकी थियो। उडान रोकिएसँगै कम्पनीले नेपाल सरकारलाई बक्यौता बुझाएर थाइ स्माइलले सेवा सुरू गरेको भुलले बताए।

नेपालका लागि थाइ स्माइलको आधिकारिक कम्पनी जिएसए सोसाइटी इन्टरनेसनल ट्राभल छ। यसले कुल १६२ सिट क्षमताको एयरबस ३२० विमानबाट उडान गरिरहेको छ।

थाइ एयरवेजको भगिनी संस्था थाइ स्माइलले सन् २०१२ जुलाईदेखि अन्तर्राष्ट्रिय रूपमा व्यावसायिक उडान सुरू गरेको हो। कम्पनीले थाइल्यान्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ।

थाइ स्माइलसँगै हाल नेपाल एयरलाइन्सको न्यारोबडी जहाजले काठमाडौं-बैंकक उडान गरिरहेको छ। आगामी अक्टोबरबाट यही यात्रामा जोडिन थाइ एयर एसियाले पनि तयारी गरिरहेको छ।

थाइ एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक उडान स्लट पाइसकेको छ। उक्त एयरलाइन्सले रातको १२:३० बजे अवतरण र १:३० बजे उडान गर्ने गरी प्राधिकरणबाट अनुमति पाएको हो। योसँगै काठमाडौं-बैंकक-काठमाडौं उडान तीन एयरलाइन्सले नियमित गर्नेछन्।

यो गन्तव्यमा व्यावसायिक उडानको इतिहास रच्ने थाइ एयरवेज भने तत्काल फर्किने सम्भावना कमै देखिएको छ।

साताकाे चर्चित
सम्बन्धित