‘लाइगर’ अभिनेता विजय देवराकोन्डाको सुपरहिट फिल्म, हेर्नुहोस् युट्युबमा
‘लाइगर’ अभिनेता विजय देवराकोन्डाको सुपरहिट फिल्म, हेर्नुहोस् युट्युबमा

आज गुड फ्राइडे सिनेमामा हामीले तिनै हिटमध्ये एउटा फिल्म सिफारिस गरेका छौं- गीता गोविन्दम्।

    • Bell Sanchar

    • १२ भाद्र २०७९, आईतवार

गुड फ्राइडे सिनेमा

अहिले सिनेमा हलहरूमा दक्षिण भारतीय अभिनेता विजय देवराकोन्डाको फिल्म ‘लाइगर’ चलिरहेको छ। विशेषगरी तेलुगू फिल्म उद्योगमा चर्चित विजय ‘लाइगर’ सँगै हिन्दी फिल्ममा प्रवेश गरेका हुन्।

दुईपटक फिल्मफेयर अवार्डसहित अन्य सम्मान पाएका विजयले थुप्रै हिट फिल्म दिएका छन्।

आज गुड फ्राइडे सिनेमामा हामीले तिनै हिटमध्ये एउटा फिल्म सिफारिस गरेका छौं- गीता गोविन्दम्।

विजय, रश्मिका मन्दाना, नित्या मेनन लगायतको मुख्य भूमिका रहेको गीता गोविन्दम् सुपरहिट फिल्म हो। विजयले एउटा फिल्मफेयर अवार्ड यसैबाट जितेका हुन्।

जम्मा पाँच करोड भारूमा बनेको गीता गोविन्दम् बक्स अफिसमा करिब एक अर्ब ३२ करोड भारू कमाउन सफल फिल्म हो। अर्थात् एकदमै कम बजेटमा बने पनि सहजै सय करोड क्लबमा परेको थियो।

पर्शुरामको निर्देशन र लेखनमा बनेको यो फिल्मको कथा बिल्कुलै नयाँ होइन। कथाका केही भाग दर्शकलाई चित्त नबुझ्न पनि सक्छ। तर यसको प्रस्तुति र निर्देशनका लागि समीक्षकहरूले खुबै तारिफ गरेका थिए।

‘लाइगर’ अभिनेता विजयको करिअरमा महत्त्वपूर्ण मानिने गीता गोविन्दम् फिल्मले पनि आधा दर्जनभन्दा बढी अवार्ड जितेको छ।

फिल्मको सारांश सुरूआती कथा यस्तो छ-

मध्यरातमा नित्याको गाडी बिग्रिन्छ। उनले बाटो छेउमा भएका विजय गोविन्दसँग सहयोग माग्छिन्। तर विजय आफूलाई मदिरा दिए मात्र मद्दत गर्ने बताउँछन्। मदिराको जोहो सहज नभएपछि उनले आफ्नो कथा सुन्नुपर्ने सर्त राख्छन्।

नित्याले सर्त स्वीकार गर्छिन्। विजय आफ्नो प्रेमकथा सुनाउन थाल्छन्।

केही समयअघि उनले मन्दिरमा गीतालाई देखेका हुन्छन्। पहिलो नजरमै गीताप्रति आकर्षित हुन्छन्। त्यही बेला गाउँमा आफ्नी बहिनीको बिहे तय भएको खबर आउँछ। विजय गाउँ जाने बसमा हुन्छन्, गीता पनि त्यही बस चढ्न आइपुग्छिन्।

नोकझोंकबीच उनीहरूको कुराकानी सुरू भए पनि यात्रा क्रममै उनीहरू आपसमा घुलमिल हुन्छन्। गीताले उनलाई सम्मानको नजरले हेर्छिन् र भरोसा गर्छिन्।

तर विजयको एक गल्तीले उनलाई गीताको नजरबाट गिराउँछ।

गीताले आफ्ना दाइहरूलाई यसबारे खबर गर्छिन्। उनका दाइ फणिन्द्र एकदमै रिसाहा र दादागिरी गर्ने स्वभावका हुन्छन्। फणिन्द्र सोझै गीता र विजय भएको बसमा आइपुग्छन्।

कुटाइ खाने र ज्यानै जान सक्ने डरले विजय अत्तालिएर भाग्छन्।

घर पुग्दा उनकी बहिनीको बिहेको धुमधाम तयारी भइरहेको हुन्छ। जब ज्वाइँको परिवार उनीहरूको घर आइपुग्छ तब विजयको सातो उड्छ।

उनकी बहिनीको बिहे गीताका दाइ फणिन्द्रसँगै हुन लागेको हुन्छ। उनीहरू गीतामाथि दुर्व्यवहार गर्ने केटालाई खोजिरहेकै हुन्छन्।

यस्तोमा आमनेसामने हुन्छन्, एकातिर गीता र फणिन्द्र, अर्कातिर विजय र उनीमाथि विश्वास गर्ने उनको परिवार।

यो अवस्थामा विजयले के गर्लान्? के गीताका दाइ फणिन्द्रले उनलाई यसै छाडिदेलान्? फणिन्द्र र विजयकी बहिनीको बिहे होला?

एक गल्तीका कारण आफूले मनपराएकी केटीको नजरमा गिरेका विजयलाई गीताले माफ गर्लिन्?

दुई जोडीको यो कथाले प्रेमको बाटो समात्ला कि हिंसाको?

यसका निम्ति हेर्नुहोस् गीता गोविन्दम्।

 

साताकाे चर्चित
सम्बन्धित