राप्रपासँग एकता गरी सहअध्यक्ष बन्न रवीन्द्र मिश्र तयार
राप्रपासँग एकता गरी सहअध्यक्ष बन्न रवीन्द्र मिश्र तयार

उपाध्यक्ष वुद्धिमानका कुरा अध्यक्ष लिङ्देनले काट्न सकेका छैनन्।

    • बेल संचार

    • १५ भाद्र २०७९, बुधबार

विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र पार्टीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा मिलाउने पक्षमा देखिएका छन्।

स्थानीय चुनावमा अपेक्षाअनुसार परिणाम नआएपछि मिश्रले विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका थिए। मिश्रको राजीनामा स्वीकृत भई विवेकशील साझाको अध्यक्ष समीक्षा बास्कोटा चयन भइसकेकी छन्।

मिश्रनिकट स्रोतले दिएको जानकारीअनुसार मिश्रले राप्रपासँग पार्टी एकता गर्ने जमर्को गरिरहेका छन्।

यसबारे राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि पटकपटक कुराकानी भएका छन्।

‘पार्टी एकीकरण गरी उहाँ (मिश्र) लाई राप्रपाको सहअध्यक्ष बनाउने गरी छलफल भएको हो।

यसमा राप्रपा अध्यक्ष लिङ्देन पनि सकारात्मक हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘तर राप्रपा उपाध्यक्ष वुद्धिमान तामाङले मानिराख्नुभएको छैन।

मिश्रलाई ल्याउँदा आफू वरियतामा पछि परिन्छ कि भन्ने उहाँको भनाइ रह्यो।’

उपाध्यक्ष वुद्धिमानका कुरा अध्यक्ष लिङ्देनले काट्न सकेका छैनन्।

‘वुद्धिमानलाई क्रस गरेर लिङ्देन अघि बढ्न सक्नुभएको छैन, त्यसैले पार्टी एकीकरणका काम ठोस रूपमा अघि बढ्न सकेको छैन।

केही दिनमा संवादबाटै थप प्रगति होला,’ उक्त स्रोतले भन्यो।

मिश्र २०७४ को चुनावमा काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार भई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए।
यसपालि मंसिर ४ मा हुने चुनावमा पनि मिश्र काठमाडौं १ मै उठ्ने तयारीमा छन्।

‘उहाँ काठमाडौं १ बाटै लड्नुहुन्छ। चुनाव लड्ने ‍औपचारिक घोषणा एक साताभित्रै होला,’ उक्त स्रोतले भन्यो, ‘राप्रपासँग एकता के हुन्छ त्यही पर्खाइमा छौं।

राप्रपासँग एकता भए उक्त पार्टीकै चिन्ह हलो र नभए विवेकशील साझाकै चिन्ह तराजुमा उहाँ चुनाव लड्नुहुन्छ।’

यसबीचमा मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता पनि भएको थियो।

आगामी चुनावलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे उनीहरूले छलफल गरेका थिए। मिश्रलाई काठमाडौं १ मा एमालेले सहयोग गर्न सक्ने संकेत ओलीले गरेका थिए।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने मिश्र सहअध्यक्ष बन्नेजस्ता विषयमा छलफल नभएको बताए। पछिल्लो समय अध्यक्ष लिङ्देन र मिश्रबीच भेटवार्ता पनि नभएको उनको भनाइ थियो।

यसैबीच विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटाले बुधबार विज्ञप्ति जारी गर्दै परम्परागत दलहरूसँग तालमेल वा एकीकरण गर्नेबारे कुनै वार्ता नभएको बताएकी छन्।

‘विवेकशील साझा पार्टीले परम्परागत दलहरुसँग चुनावी तालमेल तथा एकीकरणबारे कुनै ओैपचारिक वार्ता नगरेको स्पष्ट पार्न चाहन्छोैँ,’ उनले भनेकी छन्, ‘विवेकशील साझाले वैकल्पिक राजनीतिक केन्द्र निर्माणका लागि आवश्यक छलफल, संवाद र परामर्शलाई तीब्रता दिँदै आएको सम्पूर्ण पार्टी पंक्तिमा जानकारी गराउँदछोैँ।’

साताकाे चर्चित
सम्बन्धित