उपमहासचिव पद अस्वीकार गरेर पहिलो पटक प्रचण्डको सार्वजनिक आलोचनामा उत्रिएका जनार्दन
उपमहासचिव पद अस्वीकार गरेर पहिलो पटक प्रचण्डको सार्वजनिक आलोचनामा उत्रिएका जनार्दन

यसो भन्दै गर्दा शर्माले पटक-पटक मञ्चमा आसिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर हेरेका थिए।

    • Bell Sanchar

    • २३ भाद्र २०७९, बिहीबार

बुधबार काठमाडौंमा नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रम थियो। कार्यक्रममा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले पार्टीका केन्द्रीय उपमहासचिव, संगठन विभाग प्रमुखसमेत रहेका अर्थमन्त्री जनार्दन शर्मालाई बोल्न निम्त्याए।

ठाँटिदै बोल्न आएका शर्माले दर्शक दीर्घाबाट तालीले राम्रै स्वागत पाए। माइक अघि पुगेपछि कसैलाई कुनै सम्बोधन गर्नु अघि शर्माले भने, ‘नबजाउ मलाई ताली, तालीदेखि डर लाग्छ। नगर मलाई गाली, गालीले मलाई दु:ख लाग्छ। सक्छौ भने आलोचना गर त्यसले मलाई रक्षा गर्छ।’

यसो भन्दै गर्दा शर्माले पटक-पटक मञ्चमा आसिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर हेरेका थिए।

त्यसपछि मात्रै उनले औपचारिक सम्बोधन सुरू गरे। उनले सो कार्यक्रममा आफूले संगठन विभागको प्रमुखको हैसियतले सम्बोधन गर्ने बताए। प्रचण्डकै उपस्थितिमा शर्माले घुमाउरो पाराले उपमहासचिव पद अस्वीकार गरेको जनाउ मात्र दिएनन्, उनको सार्वजनिक रुपमै आलोचना गरे। माओवादी केन्द्रमा सम्भवत: पहिलो पटक प्रचण्डकै कोर टिममा रहेको एउटा प्रभावशाली नेताले उनकै अघि सार्वजनिक रुपमै उनको आलोचना गरेको हो। शर्माले आलोचना मात्र गरेनन्, उनको बोली र शैलीमा एक खालको आक्रमकता पनि थियो।

शर्माले महाधिवेशनताका देखि नै पार्टीको महासचिवमा आफ्नो दावेदारी प्रस्तुत गर्दै आएका थिए। आवश्यक परे निर्वाचनबाटै महासचिव छानौं भन्ने उनको धारणा थियो। महासचिवमा उनी र माओवादी केन्द्रभित्र अर्का प्रभावशाली नेता वर्षमान पुनको मुख्य दाबी थियो।

पदाधिकारी चयनको विषय प्रचण्डले पन्छाउँदै लगेपछि उनीमाथि महासचिवसहित पदाधिकारी चुन्नुपर्ने दबाब पार्टीभित्र बढ्दै गयो। प्रमुख नेताहरु सहित प्रचण्ड निवासमा भएको एउटा बैठकमा नेता पुनले पदाधिकारी चुन्नुपर्ने र महासचिवमा आफ्नो स्वभाविक दाबी भएको जिकीर गरेका थिए। पार्टी अध्यक्षले आफूलाई छाडेर शर्मालाई महासचिव बनाउन चाहेको भए त्यो गर्न पनि उनले सुझाएका थिए। तर पदाधिकारी चयनमा ढिलो गर्न नहुने धारणा उनले राखेका थिए।

त्यही बैठकमा शर्माले पुन र आफूबाहेक अध्यक्षले अरु कसैलाई महासचिव बनाउन चाहेको भए आफूलाई त्यो मान्य नहुने भन्दै बरु आफू पाँचै भोट मात्र आए पनि चुवान लड्न तयार रहेको बताएका थिए।

पार्टी अध्यक्ष प्रचण्डले भने भदौ ४ गते देवप्रसाद गुरूङलाई महासचिव बनाए। प्रचण्डले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादवलाई उपमहासचिव घोषणा गरेका थिए।

पार्टीमा महासचिवको दाबी गरिरहेका शर्माले अध्यक्ष दाहालको उक्त निर्णयमा चित्त नबुझेको भन्दै फरक मत राखेका थिए। ७ जना उपमहासचिवमा उनी पाचौं वरियतामा छन्। निकट नेताहरुलाई शर्माले पार्टी उपमहासचिव पद आफूले नस्वीकारेको बताउने गरेका छन्।

गुरुङ सिनियर नेता भएपनि माओवादी पार्टीभित्र उनको प्रभाव कमजोर छ। वैचारिक हिसाबले पनि गुरुङ धेरै एकांकी र जडसुत्रवादी छन् भन्दै दलभित्रै उनको आलोचना हुने गरेको छ। उनलाई विरलै कार्यकर्ताले मात्र माओवादी पार्टीको भविष्यको नेताका रुपमा हेर्छन्।

सम्भावना भएका प्रभावशाली नेताहरुलाई पन्छाउँदै पार्टीभित्र कमजोर गुरुङलाई महासचिव बनाएर प्रचण्डले शक्ति आफूमा मात्रै केन्द्रित गरेको भन्दै नेता-कार्यकर्ताले भित्र-भित्रै उनको आलोचना गर्ने गरेका छन्। त्यसले अन्तत: पार्टीलाई कमजोर बनाउने उनीहरुको चिन्ता छ। तर पनि आजसम्म कसैले प्रचण्डको सार्वजनिक रुपमा आलोचना गरेका थिएनन्।

बुधबारको कार्यक्रममा भने शर्माले प्रचण्डको कडा आलोचना गरे। उनले नेता र नेतृत्व सही बाटोमा नहिडेमा आलोचना गर्नुपर्ने भन्दै आफू प्रचण्डको आलोचक र रक्षक दुवै रहेको बताए।

‘म नीति र नेतृत्वको रक्षा गर्ने मान्छे हुँ। सही नीति र नेतृत्को रक्षा गर्ने अहिले पनि मेरो दायित्व हो। तर नीति र नेतृत्व सही ढंगले अगाडि बढ्नुपर्छ भन्ने पनि मेरो माग हो,’ उनले भने, ‘अहिले अध्यक्ष यही हुनुहन्छ, अध्यक्षको सबैभन्दा बढी कडा आलोचक र सबैभन्दा बढी संरक्षक रक्षा गर्ने पनि मै हो। यो आज तपाईंहरुको अगाडि म भन्न चाहान्छु। अध्यक्ष कमरेडले अहिले यहीँबाट जवाफ दिनुहोला।’

शर्मा यतिमै रोकिएनन्। उनले पार्टीको नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन पनि अघि बढ्न नसक्ने बताए।

नीति र नेतृत्वको रक्षा गर्ने भनेको आलोचना नगर्ने भन्ने नरहेकोसमेत स्पष्ट पारे। ‘म त कमरेड प्रचण्डको आलोचक हुँ, आलोचना गर्छु। तपाईंहरुले पनि पञ्चा सिंह (अखिल क्रान्तिकारीकी अध्यक्ष) ले गल्ती गरेमा आलोचना गर्नुहोला। चाकडीले नेतृत्वको रक्षा हुँदैन,’ शर्माले भने।

शर्माको बोली र भावभङ्गीमा आत्मविश्वास र आक्रमकता थियो।

पछि बोलेका अध्यक्ष प्रचण्डले शर्मालाई जवाफ फर्‍काएका थिए। तर उनको जवाफ रक्षात्मक धेरै थियो। पुन र शर्मालाई पन्छाएर गुरुङलाई महासचिव बनाउने आफ्नो निर्णयको प्रचण्डले प्रतिरक्षा गर्न सकेका छैनन्। सायद उनलाई पनि थाह छ, पार्टी पङ्तिले यो निर्णयलाई जायज मानेको छैन।

‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो- नीति र नेतृत्वको रक्षाको कुरा। म तपाईंहरुलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्‍काउन पनि प्रचण्डको मुख्य भूमिका हो। उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि मेरो भूमिका छ। म जनयुद्धदेखि अहिलेसम्म नेतृत्वमा छु। मेरो लागि धेरै चिज भएकै छ। अब म लाखौं उत्तराधिकारी तयार पार्न चाहान्छु,’ प्रचण्डले भने।

सार्वजनिक मञ्चमा शर्माले पहिलो पटक गरेको प्रचण्डको आलोचना र उनीहरु बीचको सवाल जवाफले पार्टी पङ्तिलाई रोमान्चित र चिन्तित दुवै बनाएको छ।

शर्माले नेतृत्वको आलोचना गरिरहँदा, चाकरीले नेतृत्वलाई सहयोग पुग्दैन भनिरहँदा कार्यक्रममा उपस्थित कार्यकर्ताले ताली र सिठ्ठी बजाएका थिए।

अखिल क्रान्तिकारीका कार्यक्रम अलि जीवन्त नै हुने गर्छन्। त्यहाँ ताली, सिठ्ठी र केही हो-हल्ला हाँसो हुने गर्छ। प्रचण्डले शर्माका बारेमा भन्दा पनि कार्यकर्ताले ताली बजाएका थिए।

अखिल क्रान्तिकारी भित्र पनि बिबाद छ। त्यो बिबादबारे पनि शर्माले बोलेका थिए। प्रचण्डले पनि क्रान्तिकारीको मुल नेतृत्वलाई नै सहयोग पुग्न गरी बोले।

‘क्रान्तिकारी भित्रको बिबादमा प्रचण्डले हामीलाई साथ दिनुभयो भनेर दंग परेका थियौं।

तर जतासुकै प्रचण्ड र शर्माको नोकझोकले चर्चा पायो,’ क्रान्तिकारीका एक विद्यार्थी नेताले भने, ‘हाम्रै संगठनको कुन हालत छ। नेताहरुको पनि नोकझोक सुरू भयो, के भन्नु।’

उपमहासचिव पदबारे शर्माको धारणालाई लिएर माओवादीका माथिल्लो तहका नेताहरु स्पष्ट भने छैनन्।

शर्माले पदाधिकारी चयनमा ‘नोट अफ डिसेन्ट’ लेखे पनि पद भने अस्वीकार नगरेको एक नेताले बताए।

शर्माले भने पार्टीका आन्तिरिक बैठकमा आफूलाई उपमहासचिव नभन्न आग्रह गर्दै आएका छन्।

भदौ १७ गते सुर्खेतमा भएको पार्टीको प्रदेश स्तरीय प्रशिक्षणमा शर्माले आफूलाई पार्टीको उपमहासचिव भनेर सम्बोधन नगर्न भनेका थिए।

‘म उपमहासचिव होइन, संगठन विभाग प्रमुख हुँ। उपमहासचिव नभन्नु भनेर उहाँले भन्नुभयो,’ एक नेताले भने।

साताकाे चर्चित
सम्बन्धित