शीतभण्डार सञ्चालनमा नआउँदा किसानलाई समस्या   

किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन् ।    

    • Bell Sanchar

    • ११ आश्विन २०७९, मंगलवार

मङ्गलबारे, 
इलाममा करोडौँ खर्च गरेर निर्माण गरिएको शीतभण्डार (कोल्डस्टोर) प्रयोग नहुँदा किसान तथा व्यवसायी मर्कामा परेका छन् । किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन् ।

दश वर्षअघि निर्माण भएको शीतभण्डार प्रयोगविहीन हुँदा यहाँका किसानले उब्जनी गर्नेबित्तिकै सस्तो मूल्यमा फलफूल तथा तरकारी बेच्नुपर्ने किसानलाई बाध्यता रहेको छ ।
इलाम कृषि उत्पादनका लागि उर्वर भूमि मानिन्छ ।

जिल्लामा उत्पादित भएका तरकारी र फलफूल भण्डारण गर्ने हो भने बाहिरबाट यस्ता वस्तु ल्याउनु नपर्ने व्यवसायी बताउँदछन् ।

इलाम नगरपालिका र भारतीय दूतावासको सहयोगमा इलाम –९ स्थित सेरामा १० वर्षअघि निर्माण भएको शीतभण्डार सञ्चालन नहुँदा यहाँ उत्पादित नगदेबाली भण्डारणमा समस्या भएको किसान दूर्योधन खत्रीको भनाइ छ ।

उहाँले भन्नुभयो ,“दुई हजार टन क्षमताको शीतभण्डार प्रयोगविहीन छ । तरकारी र फलफूल सस्तोमा बेच्नुपरिरहेको छ । शीतभण्डार हुनु र नहुनु एउटै भएको छ । ”

इलाम बजारदेखि मुनि निर्माण भएको सो शीतभण्डार उचित स्थानमा निर्माण नभएको जनाइएको छ । यसका लागि नेपाल सरकारबाट रु ६७ लाख ५८ हजार र इलाम नगरपालिकाले रु ४३ लाख पाँच हजार र भारत सरकारबाट रु चार करोड ३९ लाख तीन हजार खर्च गरिएको थियो ।

किसान उमकान्त रिजालले शीतभण्डार निर्माण भएर पनि सञ्चालनमा नआउँदा अधिकांश तरकारी तथा फलफूल बारीमै कुहिएर जाने गरेको बताउनुभयो ।

भारत र तराईका बजारबाट आयातित फलफूल तथा तरकारी उपभोग गर्न जिल्लाबासी बाध्य भएका छन् । इलाममा किबीसहित विभिन्न किसिमका फलफूल र तरकारी उत्पादन हुने गरेको छ । शीतभण्डारको रेखदेखका लागि नगरपालिकाले एक जना चौकीदार राखेको छ ।

नगरपालिकाले शीतभण्डार सञ्चालनका लागि पटक–पटक ठेक्का आह्वान गरेको थियो । त्यहाँ जडान गरिएका उपकरणमा समेत खिया लागेर बिग्रने अवस्थामा पुगेको छ । सो नगरपालिकाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामकुमार साहले पटक–पटक नगरपालिकाले पहल गरे पनि सञ्चालन हुन नसकेको बताउनुभयो ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित