घरदैलोका लागि २५ जना, प्रचारप्रसारका लागि १५ दिन
घरदैलोका लागि २५ जना, प्रचारप्रसारका लागि १५ दिन

दुईवटा गाडी वा चारवटा घोडा प्रयोग गर्न पाइने

    • Bell Sanchar

    • १२ आश्विन २०७९, बुधबार

 

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचारसंहिता लागु गरेको छ । आचारसंहितामा आयोगले  उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदानको १७ दिन अघिबाट मात्र प्रचार गर्न समय दिएको छ । मतदानको दुई दिन अघिबाट मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरूले प्रचारप्रसारका लागि १५ दिनको मात्रै समय पाउने आयोगले जनाएको छ ।

आयोगले कार्यान्वयनमा ल्याएको आचारसंहितामा २५ जनाभन्दा बढीको समूहमा घरदैलो गर्न रोक लगाइएको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारसहित मन्त्री, कर्मचारी, राजनीतिक दल सहित सार्वजनिक पद धारण गरेका व्यक्तिहरूका गतिविधि आचारसंहिताको दायराअन्तर्गत पर्छन् । त्यस्तै शिक्षक, पर्यवेक्षक, पत्रकार र ब्याङ्क तथा वित्तीय संस्था लगायत निजी संस्था तथा गैरसरकारी संस्थाका पदाधिकारीलाई पनि आचारसंहिता लागु हुने जनाइएको छ ।

निर्वाचन आचारसंहिता लागु भएपछि सङ्घ तथा प्रदेशका मन्त्री र स्थानीय तहका अधिकारीहरूले आफू उम्मेदवार भएको बाहेकका अवस्थामा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा सहभागी हुन नपाइने भएको छ । त्यस्तै आचारसंहिता लागु भएपछि शिलान्यास र उद्घाटन जस्ता कार्यक्रमहरू पनि गर्न रोक लगाइएको छ ।

उम्मेदवारले के गर्न पाउँछन् ?

  • स्थानीय प्रशासनको अनुमति लिई नियमानुसार जुलुस, आमसभा र प्रचारप्रसार गर्न
  • अनुमति लिई दुईवटा सवारीसाधन वा चारवटा घोडा प्रचारप्रसारमा प्रयोग गर्न
  • निजी सञ्चारमाध्यमबाट नियमानुसार प्रचारप्रसार गर्न
  • ब्याङ्क तथा वित्तीय संस्थामा खाता खोली आर्थिक सहयोग लिन

उम्मेदवारले के गर्न पाउँदैनन् ?

  • निर्वाचन चिह्न भएको पहिरन, मास्क लगाउन वा झोला बोक्न
  • अर्को दलको प्रचार प्रसारमा अवरोध पुर्‍याउन
  • अनुमति नलिई निजी सम्पत्तिमा प्रचार सामग्री राख्न र सार्वजनिक स्थानमा प्रचार सामग्री राख्न
  • क्लब, सामाजिक संस्था, तथा समूहलाई चन्दा, पुरस्कार वा अनुदान दिन
  • दलको कार्यालय बाहेकमा स्थानमा माइकिङ गर्न वा श्रव्य सामग्री बजाउन
  • विद्यालय लगायतका सार्वजनिक स्थलमा निर्वाचन लक्षित भेलाहरू गर्न
  • गाडी वा मोटरसाइकल र्‍याली आयोजना गर्न

निर्वाचन आचारसंहिता (पूर्णपाठ)

साताकाे चर्चित
सम्बन्धित