बालुवाटारमा लोसपाको दावीः संघमा १५ सिट माथि, प्रदेशमा मुख्यमन्त्री
बालुवाटारमा लोसपाको दावीः संघमा १५ सिट माथि, प्रदेशमा मुख्यमन्त्री

यही ‘टोन’मा बैठक अघि बढे गठबन्धनमा लोसपाको प्रवेश हुन सक्ने यसका नेताहरुले  बताएका छन् ।

    • Bell Sanchar

    • २१ आश्विन २०७९, शुक्रबार

काठमाडौं । एमालेसँग वार्ता टोली बनाएर गठबन्धन गर्न लागिपरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूलाई अचानक बालुवाटार धाउनुपर्ने बाध्यता आइलाग्यो ।

आज शुक्रबार दिउँसो लोसपाका नेताहरु अनिल झा, जितेन्द्र सोनल र शरतसिंह भण्डारी कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको गठबन्धनसँग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास पुगे ।

यसअघि एमालेसँग छलफल गर्न गठित कार्यदलका संयोजक राजेन्द्र महतो भने बिसञ्चो दर्शाउँदै अनुपस्थित रहे ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरू भेट्दै लोसपाका नेताहरूले मधेसमा नयाँ परिस्थिति विकसित भएको भन्दै गठबन्धनमा सहभागी हुने आकांक्षा देखाएका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेस, माओवादीसहितको सत्ता गठबन्धनले उनीहरूलाई ‘ग्रीन सिग्नल’ दिएको छ ।

यही ‘टोन’मा बैठक अघि बढे गठबन्धनमा लोसपाको प्रवेश हुन सक्ने यसका नेताहरुले  बताएका छन् ।

‘आजको छलफल हामीले सोचेअनुरुप सकारात्मक छ,’ लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले भने, ‘हामी यसैको स्पिरिटमा निष्कर्ष निकाल्छौं ।’

आसन्न संघ प्रदेश चुनावमा लोसपाले कति संख्यामा सिट पाउनेछ र सहमतिको मोडालिटी के हुनेछ भन्नेबारेमा बैठकमा सहभागी नेताहरुले मुख खोल्न मानेनन् ।

स्रोतका अनुसार उनीहरूले संघमा १५ सिटभन्दा माथि र प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेका छन् ।

‘अध्यक्ष (महन्थ ठाकुर) जीसँग यही कुरा भएको थियो, हामीले त्यसैलाई बैठकमा राख्यौं,’ बैठकबाट फर्कने क्रममा ती नेताले भने ।

उनका अनुसार आजै साँझ फेरि लोसपासँग गठबन्धनको छलफल हुन सक्नेछ ।

गठबन्धनमा रहेको एक घटक जसपाले प्रतिपक्षी दल नेकपा एमालेसँग नयाँ सहमति गरेसँगै मधेस राजनीति तरंगित भएको छ । यसले गठबन्धन पनि विभाजित भएको छ ।

साताकाे चर्चित
सम्बन्धित