अध्यक्ष पुष्पकमल दाहाल ,माओवादी कमजोर हुँदा अहिलेसम्म प्राप्त उपलब्धि उल्टन सक्छ
अध्यक्ष पुष्पकमल दाहाल ,माओवादी कमजोर हुँदा अहिलेसम्म प्राप्त उपलब्धि उल्टन सक्छ

उनले अग्रगमन र प्रतिगमनबीचको लडाइँ मंसिर ४ को चुनाव भएको पनि बताए।

    • Bell Sanchar

    • २ कार्तिक २०७९, बुधबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी कमजोर हुँदा अहिलेसम्म प्राप्त उपलब्धिहरू उल्टने खतरा रहेको बताएका छन्।

उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अरूबेला हुनेजस्तो सामान्य चुनाव नभएको पनि बताए।

आज प्रेस सेन्टर ललितपुरसँग छलफलका क्रममा प्रचण्डले मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ भएको बताए।

‘हाम्रा लागि मंसिर ४ को निर्वाचन सामान्य चुनाव मात्र होइन। जीवन मरणको संघर्षका रूपमा चुनाव छ। उपलब्धि रक्षा गर्ने र उपलब्धि उल्टाउन खोज्ने बीचको लडाइँका रूपमा निर्वाचनलाई लिनुपर्छ,’ उनले भने।

उनले अग्रगमन र प्रतिगमनबीचको लडाइँ मंसिर ४ को चुनाव भएको पनि बताए। ‘परिवर्तन रक्षा गर्न चाहने र उल्टाउन चाहनेबीच आमनेसामने हुने दिन मंसिर ४ हो, चुनाव हो,’ उनले भने, ‘यो चुनावलाई कसले जित्छन्, कसले हार्छन् भनेर छुट पाउने अवस्था छैन। आफ्नो ठाउँबाट अधिकतम जनमत निर्माण गर्नुपर्छ।’

उनले केही शक्तिहरू माओवादी एजेन्डा, आन्दोलन र नेतृत्वबारे घेराबन्दीमा लागेको पनि बताएका थिए। ‘हामी माओवादी बलियो हुँदा परिवर्तन रक्षा हुन्छ। कमजोर भए सबै चिज उल्टने खतरा छ,’ उनले भने।

साताकाे चर्चित
सम्बन्धित