बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरू
बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरू

नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री दाबी गरेको स्रोतको भनाइ छ।

    • Bell Sanchar

    • २४ पुष २०७९, आईतवार

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बसेको छ।

आइतबार साँझ भएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन्।

छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी छन्।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, प्रदेशहरूमा कहाँ कसले मुख्यमन्त्री लिनेजस्ता विषयमा छलफल हुने बताइएको छ। प्रदेश नम्बर १ मा भने नेकपा एमालेका सांसद हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन्। अन्य प्रदेशमा मुख्यमन्त्री नियुक्तिमा दाबी पेश गर्न प्रदेश प्रमुखहरूले समय दिएका छन्।

नेकपा माओवादीले बागमती, कर्णाली र सुदूरपश्चिमको मुख्यमन्त्री दाबी गरेको छ। राप्रपाले बागमतीको मुख्यमन्त्री दाबी गरेको छ भने नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री दाबी गरेको स्रोतको भनाइ छ।

यस्तै मधेशको मुख्यमन्त्रीमा जसपा र जनमत पार्टीले दाबी गरेका छन्। कहाँ कसले मुख्यमन्त्री लिने भन्नेबारे सत्ता साझेदार दलहरूले छलफल गरी निर्णय गर्ने तयारी गरेका छन्।

साथै प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन्। सत्ता साझेदार दलमा रहेकाबाहेक अन्य दलबाट पनि समर्थन जुटाउन प्रधानमन्त्रीले कोसिस गरिरहेका छन्।

साताकाे चर्चित
सम्बन्धित