रोनाल्डो र मेसी आमनेसामने हुने
रोनाल्डो र मेसी आमनेसामने हुने
    • Bell Sanchar

    • ३ माघ २०७९, मंगलवार

एजेन्सी

विश्वविजेता मेसी र पोर्चुगिच स्ट्रार क्रिस्टियानो रोनाल्डो पुनः एकपटक आमनेसामने हुने भएका छन्।

हालै साउदी टोलीमा आवद्ध भएका रोनाल्डोले रियाद ११ लाई नेतृत्व गर्दै चिर प्रतिद्वन्द्वी लियोनल मेसी सम्मिलित पिएसजीसँग मैत्रीपूर्ण खेल खेलिने तय भएको हो।

यो खेल आगामी बिहीबार रियादस्थित किङ्ग फाहद स्टेडियममा नेपाली समयअनुसार राति ११ बजे सुरू हुनेछ।

अरेबियन प्रो लिग क्लब अल नासरमा आबद्ध भएयता रोनाल्डोको यो पहिलो खेल हो। उनको टोलीमा साउदी अरेबियन प्रो लिग क्लब अल नासर र अल हिलालका खेलाडीहरुको बाहुल्यता रहनेछ।

कतार विश्वकप २०२२ को समूह चरणमा साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ गोलले हराउँदा गोल गर्ने खेलाडी सालिम अल दसारी सहित साउद अब्दुलहामी पनि टोलीमा छन् ।

साउदी अरेबियाको मनोरञ्जनका लागि जनरल अथोरिटीका अध्यक्ष टर्की अल-शेखले ट्वीटरमा एक भिडियो सेयर गर्दै खेलअघिनै रोनाल्डोलाई कप्तानको आर्मब्यान्ड लगाइदिएका छन्।

यो खेलका लागि २० लाखभन्दा बढी टिकेटका लागि अनलाइन माध्यमबाट माग भएका थिए। भीआईपीतर्फ रहेको च्यारिटी टिकट बियोन्ड इमाजिनेसन खरिदका लागि १० मिलियन साउदी रियाल राखिएको छ । अक्सनबाट यो टिकट खरिदका लागि आज मंगलबार अन्तिम दिन हो ।

यो टिकट खरिद गर्नेले रोनाल्डो, मेसी, नेइमार तथा केलियन एम्बाप्पेजस्ता स्टार खेलाडी भेट्ने मौका पाउनेछन्।

रोनाल्डोले घरेलु लिगका सुरुवाती दुई खेल प्रतिबन्धका कारण गुमाएका थिए। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्दा उनले एक समर्थकको फोन खोसेर फाल्दिएपछि अनुशासनको कारबाही स्वरुप उनको डेब्यु ढिला हुने भएको हो ।

आगामी फेब्रुअरीमा ३८ वर्ष पुग्न लागेका रोनाल्डो गत जनवरीको सुरूआततिर साउदीअरब आइपुगेका हुन्। उनलाई अरेबियन क्लब अल नासरले २०२५ सम्मका लागि वार्षिक २०० मिलियन युरोमा भित्र्याएको हो। रोनाल्डो लिगमा भने अगामी साताको आइतबार डेब्यु गर्नेछन्।

फ्रान्सेली प्रशिक्षक रुडी गार्सियाको प्रशिक्षणमा रहेको अल नासरमा रोनाल्डोको आगमनसँगै साउदी अरेबियाले ग्रीस र इजिप्टसँग मिलेर सन् २०३० को विश्वकप आयोजना गर्ने सम्भावित संयुक्त प्रस्तावअघि देशको फुटबल माहोललाई विश्वव्यापी बनाउन खोज्दैछ।

रोनाल्डो र मेसीले विगत १५ वर्षदेखि विश्व फुटबलमा आफ्नो प्रभुत्व जमाउँदै आएका छन्। १५ वर्षको बीचमा १२ वर्ष मेसी वा रोनाल्डोले वर्षको उत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेका छन्।

यस्तै स्पेनिस क्लब बार्सिलोनाबाट मेसीले तथा रियल म्याड्रिडबाट रोनाल्डोले खेल्दा दुई जनाले नौ वर्ष एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका थिए।

साउदीको रियादका क्लबद्वय अल हिलाल र अल नासर साउदी अरेबियाका दुई सबैभन्दा सफल क्लब हुन्।

सन् २०११ मा कतारले क्लब किनेपछि पिएसजी जाडो याममा कतार जाने गर्छ। तर यसपटक भने उसले साउदी पनि भ्रमण गर्न लागेको हो।

साताकाे चर्चित
सम्बन्धित