तीन कुराका लागि राष्ट्रिय सहमति चाहिन्छ: मेरो स्वार्थका लागि होइन, रामचन्द्र पौडेल
तीन कुराका लागि राष्ट्रिय सहमति चाहिन्छ: मेरो स्वार्थका लागि होइन, रामचन्द्र पौडेल
    • Bell Sanchar

    • १० माघ २०७९, मंगलवार

नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेलले राष्ट्रिय सहमति गरेर जानुपर्ने बताएका छन्।

उनले राष्ट्रिय सहमतिका पक्षमा आफू पहिलेदेखि नै रहेको आज प्रतिनिधि सभा बैठकमा बताएका हुन्।

‘मैले राष्ट्रिय सहमतिको कुरा गर्दै आएँ। यो भर्खरको कुरा होइन। मैले आफ्नो स्वार्थका लागि राष्ट्रिय सहमति खोजेँ भन्ने अर्थ लाग्ला त्यो होइन,’ उनले भने।

राष्ट्रिय सहमतिका साथ दलहरू अघि बढ्नुपर्ने बताउँदै उनले तीन कुरा उठान गरेका छन्।

‘मुलुकको आर्थिक अवस्था कमजोर छ। भू-राजनीतिक दवावमा हामी छौं र शान्ति प्रक्रिया अझै पूर्ण भइसकेको छैन,’ पौडेलले भने, ‘यी कुराका लागि राष्ट्रिय सहमति आवश्यक छ।’

उनले देशमा कुशासनको अनुभूति भइरहेको पनि बताएका थिए। विभिन्न अपराधमा जोडिएकालाई दलहरूले प्रोत्साहन दिइरहेको उनको भनाइ थियो। सबै दल एकठाउँ हुँदा अपराधिको मनोबल नउठ्ने उनले बताए।

‘दलहरूको एकता आवश्यक छ,’ उनले भने, ‘निष्ठाको राजनीतिलाई जोगाउन पनि एकताको खोजी गर्नुपर्छ।’ पौडेलका अनुसार नेतृत्वले विश्वास गुमाएको अवस्था छ। गुमेको विश्वास सकारात्मक सोच, सहमति, सहकार्य र एकताबाट फिर्ता ल्याउन सकिने उनले बताए।

संसदमा विभिन्न पार्टीका सांसदहरूले गरेका भाषण र सभामुख तथा उपसभामुख निर्वाचनमा गरिएका मतदानप्रति लक्षित गर्दै उनले निशाना एकातिर भोट अर्कैतिर हाल्ने गरेको आरोप लगाए।

साताकाे चर्चित
सम्बन्धित