सौगात मल्लपछि फिल्म ‘अगस्त्य’ मा नाजिर र मलिका अनुबन्धित
सौगात मल्लपछि फिल्म ‘अगस्त्य’ मा नाजिर र मलिका अनुबन्धित
    • Bell Sanchar

    • २४ माघ २०७९, मंगलवार

काठमाडौं । फिल्म ‘द अनब्रेकेबल: अगस्त्य’ मा अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन्।

सोमबार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्ममा नाजिर र मलिकालाई अनुबन्ध गराएको जानकारी दिएका हुन्। यसअघि फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए।

सौगात, नाजिर र मलिकाको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ। यी तीनै जना कलाकारले पहिलो पटक एकअर्कासँग काम गर्न लागेका हुन्। तर मलिका फिल्ममा कसको जोडी बनेर देखिनेछिन्, त्यो भने खुलाइएको छैन। फिल्ममा सौगात र नाजिरको एक्सन रहनेछ।

सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन्। फिल्मको कथा निर्देशक चौधरीले नै तयार पारेका हुन्। उनले दुई च्याप्टरको कथा तयार पारिसकेका छन्।

फिल्मका लागि अन्य कलाकारहरू पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए। फिल्ममा नेपालीसँगै भारतका कलाकारको पनि अभिनय रहनेछ। आगामी वैशाख अन्तिमबाट फिल्मको छायांकन सुरू हुनेछ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ। फिल्मलाई राजेश श्रेष्ठले छायांकन गर्नेछन्।

साताकाे चर्चित
सम्बन्धित