गगन र विश्वप्रकाशको सङ्कल्प: पार्टीमा वैचारिक र सांगठनिक रूपान्तरण
गगन र विश्वप्रकाशको सङ्कल्प: पार्टीमा वैचारिक र सांगठनिक रूपान्तरण
    • Bell Sanchar

    • १४ बैशाख २०८०, बिहीबार

 काठमाडौं ।

नेपाली कांग्रेसका उम्मेदवारहरू वैशाख १० को उपनिर्वाचनमा तनहुँ १ र चितवन २ मा हारेपछि पार्टीभित्र रूपान्तरणको बहस फेरि उठेको छ।

२०७८ मंसिरको १४ औं महाधिवेशन र गत पुस ६ गते संसदीय दल नेता चयनका बेला पनि पार्टीभित्र रूपान्तरण र पुस्तान्तरणका मुद्दा उठाइएको थियो।

तर सभापति र संसदीय दल नेतामा शेरबहादुर देउवा नै चुनिएका थिए।

यसपालि तीन क्षेत्रमा भएको उपनिर्वाचनमा कांग्रेसले सत्ता गठबन्धनसँग तालमेल गर्‍यो। बारा २ जसपा अध्यक्ष उपेन्द्र यादवलाई छाडेर कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको थियो। साझा उम्मेदवार उपेन्द्र बारामा विजयी भए पनि कांग्रेसका दुई उम्मेदवार, भट्टराई र श्रेष्ठ पराजित भए।

कांग्रेसका दुवै उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले हराएका हुन्। तनहुँमा कांग्रेस परित्याग गरी रास्वपाबाट उम्मेदवार भएका स्वर्णिम वाग्ले र चितवनमा सभापति रवि लामिछानेले चुनाव जितेका हुन्।

पाँच दलीय गठबन्धन गरी चुनावमा होमिए पनि कांग्रेसले उपनिर्वाचनमा एक सिट पनि जित्न सकेन। गत मंसिरमा रामचन्द्र पौडेल निर्वाचित भएको क्षेत्रसमेत कांग्रेसले गुमाएको छ। कांग्रेसका सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यहरू तनहुँ तथा चितवनका चुनावमा केन्द्रित हुँदासमेत परिणाम आफ्नो पक्षमा हात नपरेपछि कांग्रेसभित्र रूपान्तरणको बहस फेरि उठेको हो।

‘उपनिर्वाचनको परिणामले नेपाली कांग्रेसलाई दिएको सन्देश के हो र यो सन्देशलाई पार्टीले कसरी लिनुपर्छ भन्ने लगायतका सन्दर्भमा सार्वजनिक बहस र विश्लेषण भइरहेका छन्। पार्टीभित्र र पार्टी बाहिर देश विदेशमा रहनुभएका शुभेच्छुक, समर्थक तथा आममतदाता समेत विभिन्न माध्यमबाट बहसमा सहभागी हुनु भएको छ। राजनीतिप्रतिको यो चासो र चिन्ताले नेपालको राजनीतिको शुद्धीकरण र नेपाली कांग्रेस रूपान्तरणको अभियानलाई थप मद्दत पुग्छ भन्ने म ठान्दछु,’ महामन्त्री थापाले भने।

कांग्रेसका सन्दर्भमा समाजका विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्नुपर्ने थापा बताउँछन्।

‘पार्टीमा जहाँ समस्या छ त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन सम्भव छैन। त्यसैले सौम्यता र धैर्यतापूर्वक सवैको कुरा सुनौं, मनन गरौं अनि आफैँतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जनभावनाअनुसार नयाँ जीवन दिने गरी लागौं,’ महामन्त्री थापाले भने।

थापाले लामो समयदेखि पार्टीमा रूपान्तरण, सुदृढीकरण र शुद्धीकरणका लागि प्रयन्त गर्दै आएका छन्।

‘पार्टी गतिशील र जनमुखी भइदियोस् भन्ने आमचाहना अनुरूप अपेक्षित परिणाम आइ सकेको छैन।

प्रयत्न गरे पनि परिणाम नदेखिएको गुनासो गर्दै आगामी दिनमा थप सार्थक प्रयत्न गरेर परिमाणमुखी भूमिका निर्वाह गर्न नेपाली जनता र पार्टीका साथीहरूले दिएको सुझावलाई मैले गम्भीरतापूर्वक आत्मसात गरेको छु,’ उनले भने, ‘पार्टीका साथीहरू, समर्थक, शुभेच्छुक तथा वौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा संवाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रम सहितको स्पष्ट मार्गचित्र लिएर आउनेछौं। र त्यो रुपान्तरण योजना सार्थक वनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनैपर्छ भन्नेमा म प्रष्ट छु।’

उनले पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको बताए।

‘हामीलाई अलमलिने न छुट छ, न त समय नै। यही समर्पित र संगठित प्रयत्नले परिणाम पनि उत्साहजनक बनाउने ठाँउमा हामी छिट्टै नै अवश्य पुग्नेछौं भन्ने मलाई दृढ विश्वास छ,’ उनले भने, ‘पार्टीलाई रूपान्तरण गरी जनचाहना अनुसार अझै लोकतान्त्रिक,प्रगतिशील, समावेशी र निर्णायक राजनीतिक शक्तिको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्नेछौं।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि उपनिर्वाचनले पार्टीलाई रूपान्तरणको सन्देश दिएको बताए।

‘उपनिर्वाचनको परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ,’ महामन्त्री शर्माले भने, ‘देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ।

साताकाे चर्चित
सम्बन्धित