४६ वर्षको राजनीतिक करिअर ढल्यो टोपबहादुरको
४६ वर्षको राजनीतिक करिअर ढल्यो टोपबहादुरको
    • Bell Sanchar

    • १ जेष्ठ २०८०, सोमबार

काठमाडौं

नक्कली भुटानी शरणार्थी बनाएर नेपाली युवालाई अमेरिका पठाइदिने भन्दै गरिएको सङ्गठित ठगी आरोपमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सयौँ नेपालीसँग ठगी गर्ने गिरोहलाई संरक्षण दिएको आरोपमा रायमाझी पक्राउ परे ।

ठगी आरोपमा पक्राउ पर्ने रायमाझी राजनीतिक दलको उच्च ओहोदाको नेता हुन् । लामो समय नेकपा माओवादीमा राजनीति गरेका रायमाझी २ वर्ष अघिदेखि  नेकपा एमाले बनेका हुन् । नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजित हुँदा रायमाझीले एमाले रोजेका थिए ।

गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गरेर रायमाझीले सङ्घर्षपूर्ण जीत निकालेका थिए । रायमाझी ४२ हजार ६ मत सहित विजयी हुँदा नेपाली कांग्रेसकी पुष्पा भुसालले ४० हजार ९ मत पाएकी थिइन् । २०६४ सालयता भएका सबै निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट विजयी हुँदै आएका छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि धेरै अवसर पाउने नेतामध्ये रायमाझी एक हुन् । ऊर्जा, स्थानीय विकास र भौतिक पूर्वाधार जस्ता मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका थिए । रायमाझी ४ पटक मन्त्री बनिसकेका व्यक्ति हुन् ।

२०३४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका रायमाझी सुरुमा नेकपा मसालमा सक्रिय थिए । २०४४ सालमा उनी अनेरास्ववियु छैटौको अध्यक्ष बनेका थिए ।

रायमाझी २०४८ सालमा डा.बाबुराम भट्टराईसँगै प्रचण्ड नेतृत्वको मसालमा गएका थिए । २०५२ सालमा माओवादीले सशस्त्र जनयुद्ध गर्दा रायमाझी भूमिगत भएका थिए ।

भूमिगतकालमा ‘अनिल’ नामले परिचित रायमाझी सरकार–माओवादी शान्ति वार्ताको बेला टोलीको सदस्य भइसकेका व्यक्ति हुन् ।

माओवादीमा रहँदा डा. बाबुराम भट्टराईसँग नजिक मानिने रायमाझीले बाबुरामले पार्टी छाड्दा उनलाई सघाएनन् । बाबुरामको साथ छाडेपछि २०७२ सालमा बसेको केपी ओली सरकारमा उनी उपप्रधानसहित ऊर्जा मन्त्री बनाएका थिए ।

२०७७ साल पुसमा भएको प्रतिनिधि सभा विघटनलाई ‘प्रतिगमन’को संज्ञा दिँदै प्रचण्डलगायतका नेताले ओलीको विरोध गरेको समयमा रायमाझीले भने एमाले रोजेका थिए । यस्तै २०७८ मंसिरमा चितवनमा सम्पन्न एमालेको महाधिवेशनबाट रायमाझी सचिव बनेका थिए ।

राजनीतिक करिअर उचाइमा पुगेको समयमा ६३ वर्षीय रायमाझीलाई नक्कली शरणार्थी प्रकरणले कालो धब्बा लाग्न पुगेको छ । अर्थात कम्युनिस्ट पार्टीमा लागेको ४६ वर्षपछि उनको करियरमा गम्भीर प्रश्न चिह्न खडा भएको छ ।

सयौ युवा ठगी प्रकरणमा रायमाझीको संलग्नताको बलियो प्रमाण पाएर नै प्रहरीले उनलाई पक्रने जोखिम लिएको हो । शरणार्थी ठगी प्रकरणमा रायमाझीले सफाइ पाउने ठाउँ नरहेको अनुसन्धानमा संलग्न अधिकारीहरू बत्ताउँछन् ।

शरणार्थी प्रकरण नहुँदै पनि उनको परिवारको आर्थिक हैसियतबारे माओवादी भित्र प्रश्न उठ्दै आएको थियो । अस्वाभाविक आर्थिक लाभ र महत्त्वाकाङ्क्षा रायमाझीको राजनीतिक करिअर उठ्न नसक्ने गरी ढलेको विश्लेषण हुन थालेको छ ।

यही प्रकरणमा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण पनि पक्राउ परिसकेका छन् । राजनीतिक कनेक्सन जोडिएको यो प्रकरणमा पक्राउ पर्ने खाँण रायमाझीपछिका उच्च राजनीतिक नेतृत्व हुन् ।

बुधवार पक्राउ परेका खाँणसहितका अभियुक्तहरूमाथि आइतबारमात्रै थप ४ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा हालसम्म तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित पक्राउ पर्नेको सङ्ख्या १३ पुगेको छ ।

साताकाे चर्चित
सम्बन्धित