प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेश सभाको मंगलबारको बैठक गरे अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेश सभाको मंगलबारको बैठक गरे अवरुद्ध
    • Bell Sanchar

    • ३० श्रावण २०८०, मंगलवार

सुर्खेत ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेश सभाको मंगलबारको बैठक अवरुद्ध गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले संसदमा जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको हो ।

सोमबार बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले दुई वटा विषयमा समस्या समाधानको योजना सहित मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए । तर मंगलबारको बैठकमा मुख्यमन्त्री शर्मा उपस्थित नै नभएपछि एमालेले प्रमुख प्रतिपक्षीले पठाएको मुद्दामा सरकार गम्भीर र जवाफदेही नबनेको भन्दै सदन अवरुद्ध गरेको छ ।

बैठकको सुरुवातमै एमालेका प्रमुख सचेतक टेकराज पछाईले दलका नेता यामलाल कँडेलले शुक्रबारको बैठकमा उठाएका एजेण्डामा सरकार गम्भीर र जवाफदेही नभएको भन्दै बैठक अगाडि चल्न नसक्ने बताए ।

‘जनताको रक्षा र सुरक्षा गर्ने जिम्मेवारी पाएको सरकार, यात्रो विपद्को बेला कहाँ छ ? सरकार प्रमुख कहाँ हुनुहुन्छ ?’ प्रमुख सचेतक पछाईले भने, ‘हाम्रो दलका नेताले माग्नु भएको जवाफ सरकारले आजपनि दिने स्थिती रहेन, तसर्थ सरकार प्रमुखले जवाफ नदिएसम्म यो सदन चल्न सक्दैन ।’

प्रमुख सचेतक पछाईले नागरिक उड्डयन प्राधिकरणको निर्णयले कर्णालीले भोग्नुपरेको पीडा र समसामयिक जनजीविकाको सन्दर्भमा पनि प्रदेश सरकारले ध्यान नदिएको समेत आरोप लगाए । प्राधिकरणको निर्णयले कर्णालीका जनताहरूले दुःख पाइरहेको र त्यसमा प्रदेश सरकारले उपयुक्त पहल कदमी चाल्न नसकेको बताए ।

संघीय सरकारलाई दबाब दिई उक्त निर्णय फिर्ताको लागि प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गर्नुपर्ने उनले बताए । ‘प्राधिकरणको निर्णयले हुम्लाको सिमकोट विमानस्थलमा जहाज पर्खिंदा पर्खंदै ६ महिने बालक इमरान सुनार, ७ महिने रोहित शाही, साढे १ बर्षे बालक आरेन परियार र ५ महिनाका बालक सन्देश लुहारको चार जनाको मृत्यु भएको छ । सरकार यो विषयमा गम्भिर हुनुपर्छ कि पर्दैन ?’ भन्दै प्रमुख सचेतक पछाईले सरकारलाई प्रश्न गरेका थिए ।

शुक्रबारको बैठकमा एमाले संसदीय दलका नेता कँडेलले विपदमा सरकार कहाँ छ ? भन्दै सरकारको खोजी गरेका थिए । ‘प्रदेश सरकार विपद्को समयमा अभिलेखमा मात्र सीमित रहेको छ । त्यसैले आज यहाँ सरकारको खोजी गर्न आएको छु’, प्रदेश सभाको ३० औं बैठकमा बोल्दै कँडेलले भनेका थिए, ‘अभिलेखमा सरकार त होला व्यवहारमा खै ?’

प्रमख सचेतक पछाई बोलेलगत्तै बोलेका नेता कँडेलले संसदमा जनताका जनजीविकाका विषय छलफल गर्नुपर्ने भएपनि त्यसतर्फ सरकारले कुनै चासो नदिएको बताए । पछिल्लो समय अविरल वर्षाले प्रदेशभर ठुलो क्षति भै रहेकोे बेला समस्या समाधानका लागि सरकारको ध्यान नभएको उनको आरोप छ ।

‘बाढी पहिरो, डुबान र नागरिक उड्ययन प्राधिकरणका कारण कर्णालीका हिमाली जिल्लाले पीडा भोग्नुपरेको छ । नजजिविकाको सवालमा सरकार गम्भिर भएको देखिएन । सरकारलाई यसरी आफनो जिम्मेवारी पन्छिने छुट छैन । सरकार जवाफदेही नभएसम्म सदन चल्ने सक्ने स्थिति रहेन’ नेता कँडेलले भने ।

कँडेलले विषयमा सरकारले ध्यान दिनुपर्ने र जनतालाई बुझिने गरी संसदमा जवाफ दिनुपर्ने बताए । सभामुखले पटक–पटक बस्न आग्रह गर्दा पनि एमालेले अवरोध जारी राखेपछि सभामुख नन्दा गुरुङले साउन ३२ गते दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिन् ।

साताकाे चर्चित
सम्बन्धित