साँगा–धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी   
     साँगा–धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी   
    • Bell Sanchar

    • ९ आश्विन २०८०, मंगलवार

काभ्रेपलाञ्चोक

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार आयोजनाको साँगा–धुलिखेल सडकखण्डमा कामबापतको रकम भुक्तानी नपाए ठेकेदार कम्पनीले निर्माण रोक्ने चेतावनी दिएको छ ।

कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो । सडक विभागका अनुसार ठेक्का रकम रु चार अर्ब पाँच करोड ६४ लाख रहेको छ । साँगा–धुलिखेल सडकखण्डमा सडक विस्तारको काम १५ प्रतिशत सकिएको जनाइएको छ ।

निर्माण कम्पनीले सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनासँग गत जेठमै रु १५ करोड भुक्तानी माग गरेकामा हालसम्म नपाएपछि धुलिखेलमा सरोकारवालासँगको छलफलका क्रममा निर्माण रोक्ने चेतावनी दिइएको हो । “दसैँसम्ममा मागअनुसारको रकम भुक्तानी नभए साँगा–धुलिखेल सडकखण्डको काम रोक्नेछौँ”, कन्स्ट्रक्सनका प्रतिनिधि रवीन्द्र श्रेष्ठले भन्नुभयो ।

भक्तपुर सडक डिभिजन कार्यालयका सिनियर डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेले निर्माण कम्पनीबाट रु १५ करोड माग भएको तर भुक्तानी ढिला हुने भएको बताउनुभयो । उहाँका अनुसार सूर्यविनायक–धुलिखेलसम्म पुल निर्माणसहित सडक विस्तारका लागि कूल रु नौ अर्ब लाग्ने र यसमध्ये जम्मा रु ५४ करोड मात्रै ‘स्रोत सुनिश्चितता’ भएको छ । “सुनिश्चित स्रोतमध्ये रु १५ करोड मात्रै सरकारको हो, निर्माण कम्पनीलाई भुक्तानीको प्रक्रियामा लागिएको छ”, लामिछानेले भन्नुभयो ।

आयोजनाका लागि हाल सरकारसँग रु एक अर्ब माग गरिएको लामिछानेले बताउनुभयो । उहाँका अनुसार साँगा–धुलिखेल सडकखण्डअन्तर्गतका रूख कटान कार्य सुरु गरिएको तथा विद्युत्का खम्बा हटाउन विद्युत् प्राधिकरणसँग प्रक्रिया थालिएको छ ।

छलफलमा सडक विस्तारको कामलाई निरन्तरता दिन सकिए समयमै काम सम्पन्न हुने अपेक्षा गरिएको थियो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि २०७९ फागुनदेखि सो सडकखण्ड विस्तार थालिएको हो । दोस्रो चरणमा सम्झौता भएको भक्तपुरको सूर्यविनायक–साँगा सात दशमलव पाँच किमी सडकखण्ड भने रु तीन अर्ब ८८ करोड ९३ लाखको रहेको छ । यी दुवै सडक खण्डको २०७९ फागुनमा ३६ महिनाभित्र सक्नुपर्ने सम्झौता गरिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित