बीटीएसका सदस्यलाई सैन्य तालिम, के होला कोरियाली पपको भविष्य ?
बीटीएसका सदस्यलाई सैन्य तालिम, के होला कोरियाली पपको भविष्य ?
    • Bell Sanchar

    • २९ मंसिर २०८०, शुक्रबार

संगीतमा प्रसिद्धिको उचाइ चुमिरेहका बखत त्यसलाई छोडेर कोही कलाकार समूह सेनामा सायदै भर्ती होला तर कोरियाली पप संस्कृतिको प्रवर्द्धक तथा ख्याती प्राप्त बाङताङ्क सोन्योन्ताङ अर्थात् बीटीएस ब्याण्डका सदस्यले दक्षिण कोरियाली सैन्य तालिम लिने भएका छन् ।

ब्याण्डका प्रमुख गायक जोङ कुक अन्य सदस्य सहित सैन्य तालिमका लागि जाँदैछन् । । दक्षिण कोरियामा १८ वर्षदेखि २८ वर्ष उमेर समूहका सेनामा भर्तीका लागि योग्य हुन्छन् । गत साताको मंगलबारमात्रै कुकले न्युयोर्कको टाइम्स स्क्वायरमा धमाकेदार प्रस्तुती दिएका थिए ।

केही साताअघि उनले जस्टिन टिम्बरब्लेकसँग सहकार्य गर्दै एल्बम समेत निकालेका थिए । त्यसमा उनको नृत्य निकै प्रख्यात भएको थियो भने त्यस गीत टिकटकमा ट्रेन्डिङ थियो ।

लोकप्रियताको ग्राफ उकालो लाग्दै गर्दा त्यसलाई चटक्कै छाडेर बीटीएस सिओल फर्कियो । त्यसको केही दिनमा २६ वर्षीय कुकसँगै त्यसका अन्य ३ सदस्य लाइभमा आएर पिज्जा पार्टी गर्दै आफ्ना स्रोता तथा दर्शकहरुमाझ एउटा घोषणा गरे, ‘अब हामी छिट्टै सैन्य ड्युटीमा जाँदैछौँ ।’

बीटीएसका फ्यानहरुले उनीहरुको हेयर स्टाइलको निकै प्रशंसा गर्थे । सैन्य तालिममा जानेभएसँगै उनीहरुले पनि निकै छोटो कपाल राख्नुपर्नेछ ।

प्राविधिक रुपमा दक्षिण कोरिया उत्तर कोरियासँग द्वन्द्वको स्थितिमा छ । यसकै लागि १८ देखि २८ वर्ष उमेर समूहकालाई त्यहाँ १८ महिनासम्म सैन्य तालिम दिइएको हो । दक्षिण कोरियाली संस्कृतिका प्रभावशाली प्रवर्द्धक के अब सेनामै रहलान् त ? उनीहरुको फ्यानको चासो यसैतर्फ छ।

सेनामा गएसँगै बीटीएसले के अपेक्षा गर्न सक्लान् ?

सेनामा सहभागिताका लागि कतिपयलाई उमेरमा छुट समेत दिइएको छ । ओलम्पिकका स्वर्णधारी, शास्त्रीय संगीतका प्रवर्द्धकहरुलाई छुट दिइएको हो । बीटीएसलाई नै मध्येनजर गर्दै दक्षिण कोरियाली संसदले उनीहरुका निम्ति सेनामा सहभागिताको उमेर हद ३० पुर्‍याएको थियो ।

बीटीएसका समर्थकहरुले उनीहरुले राष्ट्रका लागि अर्बौँ डलर भित्र्याएको हुनाले उनीहरुलाई सुपरस्टारकै हैसियतमा रहन दिनुपर्ने आवाज समेत उठाएका छन् । यो आवाज उठाउनेमा पूर्व प्रशासकदेखि पूर्वमन्त्री पनि छन् ।

उनीहरुको व्यवस्थापनको जिम्मा लिएको एजेन्सी बिगहिट म्युजिकले ब्याण्डका सातैजनाले १८ महिने सैन्य तालिम लिने बताएको छ । बीटीएसलाई एक अन्तरालपछि सैन्य सेवा र उनीहरुको परियोजनाको तालमेल समेत मिलाउन दिने तयारी छ । ‘बीटीएस सेनामा जाने कुरा पश्चिमा स्रोताका लागि निकै कठोर सुनिन सक्छ तर उनीहरुले यसअघिका सुपरस्टारका पदचाप पछ्याएका हुन्,’ येल विश्वविद्यालयका प्राध्यापक ग्रेस काओ बीबीसीसँग भन्छिन् ।

कोरियाली पप तथा नाटकका धेरै सुपरस्टारले सैन्य तालिम लिएको उनी बताउँछिन् । बीटीएस सेनामा जाने कुरा उनीहरुको फ्यानका लागि कुनै आश्चर्यको कुरा भने हुननसक्ने उनको भनाइ छ । बीटीएस सेनामा जाने भएसँगै उनीहरुका स्पेनिसदेखि भियतनामी फ्यानहरुले आफ्नो भाषामा निकै मार्मिक र भावुक स्टाटस लेखेका छन् । ‘सबै एकैपटक सेनामा गए । मेरो हृदय निकै विक्षिप्त छ । उनीहरुले न्यास्रो बढाउने भए,’ एक फ्यानले लेखेका छन् ।

बीटीएस सेनामा जाँदा उनीहरुको अनुपस्थितिमा अन्य के-पप विधाका ब्याण्ड उदाउन सक्ने अवसर पनि छ । तर सैन्य तालिम जाँदा १८ महिनासम्म फ्यानहरुले रिक्तताको महसुस गर्नेछन् । बीटीएसका फ्यान यसबखत निकै विक्षिप्त छन् ।

साताकाे चर्चित
सम्बन्धित