बाइस वर्षपछि गायनमा गुरुङ
बाइस वर्षपछि गायनमा गुरुङ
    • Bell Sanchar

    • २० पुष २०८०, शुक्रबार

काठमाडौँ

गायक शशि गुरुङले २२ वर्षपछि नयाँ गीत सार्वजनिक गर्नुभएको छ । आज सुन्धारास्थित एक चलचित्र भवनमा उहाँले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘तिमीले हेर्न चाहे’ को श्रव्यदृश्य सार्वजनिक गर्नुभएको हो ।

गुरुङले आगामी दिनमा गायनलाई निरन्तरता दिने बताउनुभयो । “म सरकारी जागिरे भएकाले गीतसङ्गीतलाई निरन्तरता दिन पाइन् । अब निरन्तररुपमा आफूलाई यस क्षेत्रमा प्रस्तुत गर्नेछु”, उहाँले भन्नुभयो, “धेरै गीत गाएर स्थापित वा चर्चित भइदैन भन्ने मैले बुझेको छु । थोरै तर स्तरीय गीतमार्फत आफ्नो दर्शकसँग साक्षात्कार हुन सकिन्छ ।” गुरुङले आफूलाई मामाको प्रभावले गीतसङ्गीतमा अगाडि बढ्न प्रेरणा मिलेको बताउनुभयो ।

उक्त गीत प्रकाश सायमीले रचना गर्नुभएको हो भने सङ्गीत सिर्जना प्रविन बराइलीले गर्नुभएको छ । गीतको श्रव्यदृश्यमा कुशल केसी र मुना भूर्तेलले अभिनय गर्नुभएको छ ।

गीत हेर्दा आँखालाई शितलता दिएको र सुन्दा कर्णप्रिय लागेको वरिष्ठ गीतकार नगेन्द्र थापाले बताउनुभयो । “म चलनचल्तीका गीतको सम्पर्कमा छैन । अहिले आइरहेका गीतमध्ये सशक्त शब्द र कर्णप्रिय सङ्गीत भएको गीत यो हो । यो गीत बाचिरहने किसिमको बनेको छ”, उहाँले भन्नुभयो, “उहाँको गायन शैलीको ताजगी उस्तै छ । उहाँलाई निरन्तरता दिनुस् र यस्तै बाच्ने गीतसङ्गीत सिर्जना गर्नुहोस् भन्न चाहन्छु ।”

अमेरिकामा रहनुभएका गायक ओमविक्रम विष्टले श्रव्यदृश्य सन्देश पठाउँदै गायक गुरुङलाई शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, “उहाँ (गायक गुरुङ) सँग गीत गाउने मौका पाएको छैन । उहाँले गर्नुभएको सुरुआतले गीतसङ्गीतमा नयाँ आयाम थप्नेमा विश्वस्त छु । यो स्रोतासँगै सर्जकलाई पनि मनपर्ने गीत बनेको छ ।”

उक्त अवसरमा ‘बितेका पलहरु’ बोलको लिरिकल भिडियोसमेत देखाइएको थियो । उक्त गीतमा भूषण खरेलले शब्द रचना र शक्ति बल्लभले सङ्गीत भर्नु भएको छ । कार्यक्रममा गीतकार दिनेश अधिकारी, श्री पुरुष ढकाल, सङ्गीतकार राजुसिंहलगायत सङ्गीतकर्मीको उपस्थिति थियो ।

साताकाे चर्चित
सम्बन्धित