झापामा सहकारीको ७० अर्ब पुँजी परिचालन   
झापामा सहकारीको ७० अर्ब पुँजी परिचालन   
    • Bell Sanchar

    • २६ पुष २०८०, बिहीबार

झापा

झापामा सहकारीमार्फत रु ७० अर्बभन्दा बढी पुँजी परिचालन भएको छ ।

झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ । “सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ”, उहाँले भन्नुभयो, “यसले स्वरोजगार सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।”

सहकारीमार्फत परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दूध उत्पादन, वैकल्पिक ऊर्जालगायतका क्षेत्रमा लगानी भएको अध्यक्ष ढकालले बताउनुभयो । पछिल्लो समयमा झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ । सहकारीबाट लिएको ऋण तिर्न आनाकानी गर्दा सहकारी संस्थाको ऋण असुलीमा समस्या देखिएको हो ।

अध्यक्ष ढकालले भन्नुभयो, “ऋण तिर्न प्रेरित गर्न राष्ट्रिय अभियान नै चलाउनुपर्ने देखिन्छ, यसमा राज्यको सहयोग अपरिहार्य छ ।”

झापामा आठ सय दुई सहकारी दर्ता भएकामा ५८ वटा खारेज भएका छन् । “स्थानीय तहले सहकारीको नियमन गर्न थालेयता र मर्ज हुने क्रम बढेसँगै सहकारीको सङ्ख्या घटबढ भइरहेको छ”, सङ्घका सचिव भवानीप्रसाद दङ्गालले भन्नुभयो ।

झापा जिल्ला सहकारी सङ्घमा चार सय ९२ सहकारी संस्था आबद्ध छन् । यसमा बहुउद्देश्यीय ७४, बचत तथा ऋण एक सय ९३, कृषि सहकारी एक सय ९३, दुग्ध र सुपारी ६÷६, चिया र उपभोक्ता चार–चार, विविध आठ र सङ्घ चार आबद्ध रहेको सचिव दङ्गालले बताउनुभयो । झापाका सहकारीमा पाँच हजारभन्दा बढी व्यक्तिले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित