मुगुका विद्यार्थी ५ घण्टा हिडेर पढ्न आउछन् , जुम्ला
मुगुका विद्यार्थी ५ घण्टा हिडेर पढ्न आउछन् , जुम्ला
    • उमेश बुढा

    • ३० फाल्गुन २०८०, बुधबार

जुम्ला ।

मुगुको खत्याड गाउँपालिका वडा नम्बर ५ चागपाडे गाउँका विद्यार्थी ५ घण्टा लगाएर जुम्लाको कनकासुन्दरी गाउँपालिका ३ मा रहेको माध्यमिक विद्यालय बुढू चौतारा पढ्न आउने गरेका छन् ।

चागपाडे गाउँकै श्री उच्च लेकाली आधारभूत विद्यालयबाट कक्षा पाँच पास गरिसके पछि विद्यार्थी अन्त पढ्न जाने गरेका छन् ।

यहाँका अभिभावकले छोराछोरीलाई घर नजिकै आफूसँग विहान बेलुका घरमै खाना खुवाएर नजिकै गाउँको आधारभूत तह पढाई सके पछि , कता पढाउने कहाँ कोठा लिएर बसाल्ने भन्ने चिन्तामा छन् ।

कसैले त पाँच पास गरि सकेपछि विद्यालय पनि छोडिसकेका छन् , भने कसैले कष्टपूर्ण रुपमा पढिरहेका छन् । दुर्गम विगट एकान्त वस्ति भएको गाउँमा करिब ३० घरधुरी रहेका छन् । वरिपरि वनजङ्गलले ढकप्प ढाकेको सानो गाउँ छ । नजिकै रारा राष्ट्रिय निकुञ्ज रहेको छ , त्यहाँबाट जङ्गली जनावर बाघ , भालु लगायतका अन्य जनावरको पनि विद्यार्थीलाई निकै डर रहेको अभिभावक हरिकला बुढाले बताउनु भयो ।

बिहान सात बजेतिर खाना आएर घरबाट हिडेर विद्यालय जान्छन् अनि विद्यालयबाट चार बजे छुट्टि भएपछि घरतिर हिडेर बेलुका सात , आठ बजे पुग्छन् । यसरी बिहान बेलुका बाटोमा हिड्दै ठिकै हुन्छ , गृहकार्य गर्ने छोराछोरीलाई समय हुँदैन बुढाले बताइन् ।

कार्तिक मङ्सिरको महिनामा छोटा दिनहरु हुन्छन् , त्यतिबेला विद्यालयबाट बेलुका ७ बजे राती घर पुग्छौं कक्षा ९ की गोरीकला बुढाले भनिन् , बाटोमा हिड्दा जङ्गली जनावर र लागूऔषध खाएका मान्छेहरुको डर पनि लाग्छ । वर्खा समयमा पानीले भिजाउँछ , माघ , फागुन , चैत र बैशाखमा हिउँको बाटोमा हिड्नु पर्छ , जुम्ला र मुगुको सिमानामा पर्ने ठुलो लेक कालाकाँडा डोव लेक पर्ने भएकोले विद्यालय आवतजावत गर्न निकै समस्या परेको बुढाले बताइन् ।

यो गाउँदेखि नजिकै अन्य छिमेकी गाउँमा रहेका विद्यालयमा पढ्न जाँदा पनि घण्टौ समय लाग्छ , त्यसैले यहाँका विद्यार्थी जुम्ला पढ्न जान्छन् । विहान घरबाट साढे २ घण्टा हिड्छन् भने बेलुका पनि साढे २ घण्टा लगाएर घर पुग्छन् । उकालो , ओरालो र जङ्गलको हिउँको बाटोमा हिड्ने गरेका छन् । यहाँका विद्यार्थीहरुले निकै कष्टपुर्ण रुपमा विद्यालय आएर पढ्ने गरेका छन् ।

बिहान उठ्नासाथ विद्यालय पढ्न आउनको चिन्ता , विद्यालय छुट्टि भए पछि घर जानको चिन्ताले विद्यालयमा शिक्षकले दिएको गृहकार्य गर्न पाएका छैनन् ।

यो गाउँबाट करिव २० जना जति विद्यार्थीहरु जुम्लाको श्रि माध्यमिक विद्यालय बुढू चौतारामा पढ्न आउँछन् ।

साताकाे चर्चित
सम्बन्धित