कालीकोटमा शैक्षिक सत्र अगावै पुग्यो पाठ्यपुस्तक   
कालीकोटमा शैक्षिक सत्र अगावै पुग्यो पाठ्यपुस्तक   
    • Bell Sanchar

    • २४ चैत्र २०८०, शनिबार

कालीकोट, 

कालीकोटमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पहिलोपटक पाठ्यपुस्तक पुगेको छ । चालू आर्थिक वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेमा सो अगावै पाठ्यपुस्तक कालीकोटमा आइपुगेका हुन् ।

आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताहरुसँग पाठ्यपुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कालीकोटका निमित्त प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिनुभयो । “पहिलोपटक जिल्लामा शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला पाठ्यपुस्तक उपलब्ध भएको छ”, उहाँले भन्नुभयो, “पाठ्यपुस्तक पालिका र सम्बन्धित विद्यालयलाई चाँडो खरिद गर्नका पत्रचार गरेका छौँ ।”

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुर्खेत कार्यालयले पाठ्यपुस्तक शैक्षिक सत्र अगावै उपलब्ध गराएको विनोद बुक सेन्टरका सञ्चालक नन्दबहादुर शाहीले बताउनुभयो । “चैत १५ गते नै कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक जिल्लामा आइपुगेका छन्”, उहाँले भन्नुभयो, “अहिले स्थानीय तहका विभिन्न विद्यालयमा पठाउने काम भइरहेको छ ।”

समयमै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने महावै गाउँपालिकाका शिक्षा अधिकृत मदनबहादुर शाहीले बताउनुभयो । “पाठ्यपुस्तकको अभावमा पठनपाठन अब प्रभावित हुने छैन्”, उहाँले भन्नुभयो, “गाउँपालिकाका सम्पूर्ण विद्यालयमा समयमै पाठ्यपुस्तक पु¥याउने तयारी गरिरहेका छौँ ।”

कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आइरहेको छ । चालु आर्थिक वर्षको शैक्षिक सत्रभन्दा पहिलाका शैक्षिक सत्रमा भने सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीहरुले सास्ती खेप्नुपर्ने अवस्था थियो ।

साताकाे चर्चित
सम्बन्धित