नगर चक्रपथ निर्माण अगाडि बढ्यो   
     नगर चक्रपथ निर्माण अगाडि बढ्यो   
    • Bell Sanchar

    • २६ बैशाख २०८१, बुधबार

कञ्चनपुर, 

शुक्लाफाँटा नगरपालिकामा नगर चक्रपथ सडक निर्माण अगाडि बढाइएको छ । नगरपालिकाका १२ वटै वडा जोड्ने गरी चक्रपथ निर्माण गरिन लागेको हो ।

नगरपालिकाको रु पाँच करोड र सङ्घीय सरकारको रु पाँच करोड गरी रु १० करोडको लागत साझेदारीमा चक्रपथ सडक निर्माण हुन लागेको नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाप्रमुख दीपक धामीले बताउनुभयो । सडक निर्माणका लागि बोलपत्र आह्वान (ई–बिड)को कार्य गरिएको छ ।

तीन वर्षभित्र सडक निर्माण गर्नका लागि ठेक्का सम्झौता गरिएको उहाँले बताउनुभयो । चक्रपथ सडकको कूल लम्बाइ ११ दशमलव सात किलोमिटरमध्ये छ किलोमिटर सडक पहिलो चरणमा निर्माण हुने उहाँले बताउनुभयो । चक्रपथ सडक निर्माणका लागि सङ्घीय सरकारबाट रु एक करोड अनुदान रकम प्राप्त भएको उहाँले बताउनुभयो ।

पहिलो चरणमा नगरपालिका–१२ कालागौडी चौराहादेखि वडा नं १ को खजुवापट्टि हुँदै वडा नं २ को रानीपुर, वडा नं ३ को जोनापुर, पिपलाडीसम्मको सडक निर्माणको कार्य हुनेछ । “सडक सुरक्षाका लागि सडक जोगाउन आवश्यक भएका क्षेत्रमा रु तीन करोडको लागतमा तटबन्ध निर्माण कार्य हुन्छ”, शाखाप्रमुख धामीले भन्नुभयो, “सोह्रभन्दा बढी ठाउँमा ह्युमपाइप र कल्भर्ट निर्माण कार्य हुन्छ ।”

उहाँका अनुसार १२ मिटर चौडाइको सडकमा सात मिटर चौडाइमा कालापत्रको कार्य गरिनेछ । ‘ओपन ग्रेडेड प्रिमिक्स कार्पेट’ प्रविधिअनुसार सडकमा २० एमएम मोटाइको कालोपत्रको कार्य गरिने धामीको भनाइ छ । सडक गुणस्तरयुक्त बनाउनका लागि नियमित अनुगमन, निर्माण सामग्रीको गुणस्तरबारे जाँचको कार्य हुने उहाँले बताउनुभयो । चक्रपथ निर्माण गरी नगरपालिकाले १२ वटै वडालाई जोड्ने लक्ष्य लिएको छ । यसअघि नै चक्रपथ निर्माणका लागि नगरपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ ।

साताकाे चर्चित
सम्बन्धित