रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु
रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु
    • Bell Sanchar

    • २६ बैशाख २०८१, बुधबार

मुगु, 

रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको तली तुम गाउँदेखि वडा नं ३ लामाचौरसम्मको सडक विस्तारको काम थालिएको हो ।

जिल्ला सदरमुकाम गमगढीबाट रारा पुग्न पैदल दुई घण्टा र गाडीमा रारा विमानस्थल हुँदै जाँदा ३० मिनेट लाग्छ । गमगढी लामाचौर दूरी छोटो हुने भएकाले सडक विस्तारको काम सुरु गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर वीरबहादुर जिटीले बताउनुभयो । उहाँले भन्नुभयो, “रारा तालको पर्यटन विकासमा टेवा पु¥याउन यो सडक विस्तार र स्तरोन्नतिको काम अघि बढाइएको हो ।”

विनम्र निर्माण सेवा सुर्खेतले रु ५५ लाख चार हजार सात सय ७५ मा सडक विस्तारको ठेक्का लिएको छ । २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । पर्यटकीय मार्गको विस्तारको काम धमाधम भइरहेको छ ।

तीन किलोमिटर लम्बाइ रहेको उक्त पर्यटकीय सडकमा १.५ किलोमिटर दूरी चार मिटर चौडाइको ग्राभेल र चार सय ५० घनमिटर ग्याबिन जाली र २.५ किलोमिटर सडक चौडा पारिने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । रारा पर्यटकीय मार्गको विस्तारको काम सम्पन्न भएमा गमगढीवासीका साथै कर्णाली करिडोर र कर्णाली राजमार्ग हुँदै मुगु जिल्ला सदरमुकाम गमगढी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई राराताल पुग्न १० मिनेट मात्र लाग्ने छ ।

साताकाे चर्चित
सम्बन्धित