झापामा दुर्घटना रोक्न समुदाय केन्द्रित ट्राफिक सचेतना कार्यक्रम   
     झापामा दुर्घटना रोक्न समुदाय केन्द्रित ट्राफिक सचेतना कार्यक्रम   
    • Bell Sanchar

    • २६ बैशाख २०८१, बुधबार

झापा,

दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना शिक्षा सुरु गरेको छ । विशेषगरी पूर्व–पश्चिम राजमार्गसहित जिल्लाका सहायक सडक खण्डमा गुड्ने सवारी साधनलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सचेतना शिक्षा सुरु गरेको हो ।

पूर्वको काँकडभिट्टादेखि पश्चिममा मावाखोलासम्मको एक सय ४४ किलोमिटर राजमार्ग क्षेत्रमा विभिन्न ठाउँमा हेल्प डेस्क र जाँच चौकी खडा गरी ट्राफिक सचेतना प्रदान गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

अत्यधिक दुर्घटना हुने क्षेत्र ‘ब्याकस्पट’ क्षेत्रमा ट्राफिक प्रहरीले हेल्प डेस्क र जाँच चौकी खडा गरेको छ । तीव्र गतिमा सवारी नचलाउन आग्रह गर्दै प्रहरीले ठाउँठाउँमा सचेतना बोर्डसमेत राखेको छ । केही दिनयता झापामा सवारी दुर्घटना बढेसँगै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सडक सुरक्षा रणनीति अपनाएको हो । अहिले राजमार्गसँगै विद्यालय, सार्वजनिकस्थल, विभिन्न सङ्घसंस्थामा दिनहुँ ट्राफिक सचेतना कार्यक्रम सञ्चालन भइरहेका छन् । सडकको जीर्ण अवस्था, सवारी साधनको चाप उच्च, ट्राफिक जनशक्तिको अभाव र सवारी चालकको लापरबाहीका कारण झापामा सवारी दुर्घटना बढेको निष्कर्षसहित ट्राफिक प्रहरी सडक सुरक्षामा केन्द्रित भएको हो ।

विशेषगरी साँझको समयमा बढी दुर्घटना हुने गरेको र दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २५ वर्षभन्दा माथि उमेर समूहका भएकाले त्यस्ता समूहलाई लक्षित गर्दै ट्राफिक सचेतना सुरु गरिएको प्रहरी निरीक्षक न्यौपानेको भनाइ छ । योसँगै ट्राफिक जाँचमा समेत कडाइ गरिएको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षको चैत महिनासम्म ट्राफिक नियम उल्लङ्घन गर्ने ३६ हजार २१ सवारी चालक कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन नगरी सवारी चलाउन जिल्लाका विभिन्न स्थानमा तीन हजार दुई सय २५ सचेतना कक्षा सञ्चालन गरेको र विद्यार्थीसहित एक लाख ३० हजार आठ सय ४९ जनालाई ट्राफिक सचेतना शिक्षा प्रदान गरिएको प्रहरी निरीक्षक न्यौपानेको भनाइ छ ।

समुदाय केन्द्रित ट्राफिक सचेतना कार्यक्रमसमेत गर्दै आएको ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि आफूहरुसँग उपकरण र जनशक्तिको अभाव भएको जनाएको छ । झापामा दिनानुदिन सवारी साधनको चाप बढ्नु अनि जनशक्ति र जाँचका लागि उपकरण नहुँदा समस्या हुने गरेको ट्राफिक प्रहरी निरीक्षक न्यौपानेको भनाइ छ । सवारीको गति जाँचका लागि ‘¥याडरगन’ नहुनु, मादक पदार्थ सेवन गरेको वा नगरको जाँचका लागि ‘ब्रेथलाइजर’ मेसिन ट्राफिकसँग नहुनुले समस्या हुने गरेको उहाँको भनाइ छ ।

यातायात व्यवस्था कार्यालयका अनुसार आर्थिक वर्ष २०७९÷८० सम्ममा झापामा दुई लाख ९६ हजार आठ सय ८५ सवारी साधन दर्ता रहेका छन् । त्यो अनुपातले हेर्दा एक ट्राफिक प्रहरीले तीन हजार ३२ सवारी साधनको रेखदेख गर्नुपर्ने अवस्था रहेको प्रहरी निरीक्षक न्यौपानेको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित