काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
अल अमेरातस्थित क्रिकेट ग्राउन्डको मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र स्थान बनाउन नेपालका लागि यो खेल महत्वपूर्ण मानिएको छ।
शृङ्खलाको सुरुआतमा नेपालले लगातार दुई खेल जितेको थियो। पहिलो खेलमा क्यानडालाई र दोस्रो खेलमा ओमानलाई पराजित गरेको नेपाल तेस्रो खेलमा भने शनिबार क्यानडासँग पराजित भएको थियो।
क्यानडासँगको हारपछि नेपालको अंकतालिकामा स्थान खस्किएको छ। ३६ खेलबाट २९ अंक जोडेको क्यानडा छैटौँ स्थानमा उक्लिँदा ३५ खेलबाट २८ अंक रहेको नेपाल सातौँ स्थानमा पुगेको छ।
आज ओमानलाई पराजित गर्न सके नेपाल पुनः छैटौँ स्थानमा उक्लिनेछ। त्यसैले नेपालका लागि यो खेल अंकतालिकामा सुधार गर्ने अवसरका रूपमा रहेको छ।
लिग–२ को शीर्ष ६ मा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने सम्भावना बलियो हुने भएकाले नेपालका लागि प्रत्येक खेलको नतिजा महत्वपूर्ण बनेको छ। घरेलु टोली ओमानविरुद्ध जित निकाल्दै नेपाल शीर्ष ६ मा फर्कने लक्ष्यसहित मैदान उत्रनेछ।