बीपी राजमार्गमा माइक्रो बस २०० मिटर तल खस्यो, चालकसहित तीन जना घाइते
बीपी राजमार्गमा माइक्रो बस २०० मिटर तल खस्यो, चालकसहित तीन जना घाइते
    • बेल संचार

    • ३ कार्तिक २०८३, सोमबार

काभ्रेपलाञ्चोक ।

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस राति करिब २ बजे सडकबाट झन्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

दुर्घटनामा इलाम नगरपालिका–६ का ३७ वर्षीय चालक लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ की २६ वर्षीया रिता आपागाई र उनका नौ वर्षीय छोरा रितिक घाइते भएका छन्।

अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले तीनै जनाको उद्धार गरेको थियो।

उद्धार गरिएका घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप विवरण प्राप्त हुन बाँकी छ।

साताकाे चर्चित
सम्बन्धित