३७०,००० भन्दा बढी विदेशी जापान प्रवेश पर्खाईमा, नोभेम्वर अन्त्यसम्म खुल्ने अपेक्षा
३७०,००० भन्दा बढी विदेशी जापान प्रवेश पर्खाईमा, नोभेम्वर अन्त्यसम्म खुल्ने अपेक्षा
    • Bell Sanchar

    • ९ कार्तिक २०७८, मंगलवार

कोभिड-१९ को फैलावटलाई सीमित गर्ने उद्देश्यले सीमा नियन्त्रणका कारण अक्टोबर १ सम्ममा बसोबासको स्थितिको पूर्वप्रमाणीकरण सिओई पाएपनि जापान प्रवेश गर्न नसक्ने ३७०,००० भन्दा बढी विदेशी नागरिक रहेको पाइएको छ । जापान आउन नपाएका मध्ये ७० प्रतिशत प्राविधिक प्रशिक्षार्थी र अन्तर्राष्ट्रिय विद्यार्थी हुन् । धेरै देशहरूले अध्यागमन प्रतिबन्धहरू कम गर्न र तिनीहरूको अर्थव्यवस्था पुन खोल्न कदम चालिरहेका बेला, जापानले मात्र सबै देशहरूबाट विदेशी प्रवेश प्रतिबन्धहरु यथावत राखेको छ । विदेशी नागरिकहरूले तीन महिनाभन्दा बढी समय जापानमा बस्नको लागि जापान भ्रमण गर्नु अघि योग्यताको प्रमाणपत्रको लागि आवेदन दिनुपर्छ । सरकारी स्रोतका अनुसार अध्यागमन सेवा एजेन्सीले जनवरी २०२० देखि ५ लाख ७८ हजार व्यक्तिलाई योग्यता प्रमाणपत्र जारी गरेको छ, जसमध्ये ३ लाख ७१ हजार अझै जापान प्रवेश गरेका छैनन् ।

सरकारले गत बर्ष जनवरीमा सीमानामा कडाइ गरेको थियो । हाल जापानको आवासिय भिषा पाएका विदेशी बासिन्दाहरू र जापानी नागरिकहरूको पति पत्नीहरू जस्ता विशेष हैसियत भएका अन्यहरूलाई मात्र प्रवेश अनुमति दिइन्छ । विदेशबाट फर्केका नागरिकले पीसीआर परीक्षण र क्वारेन्टाइनमा बस्नुपर्ने नियम रहेको छ ।

स्वास्थ्य मन्त्रालयले प्रतिबन्धहरू सहज बनाउन विचार गरिरहेको बताईएको छ । तर जापानमा धेरै विदेशी नागरिकहरूलाई अनुमति दिँदा कोभिड मामिलाहरू र भाइरसको नयाँ संस्करणहरूमा वृद्धि हुने चिन्ता व्यक्त गर्दै आएको छ । सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका केही राजनीतिज्ञहरू अघिल्लो पटक संक्रमण वृद्धि अपर्याप्त सीमा नियन्त्रणका कारण भएको ठान्छन् र उनिहरु नियमहरू हतारमा हटाउन नहुने पक्षमा छन् । सिमा प्रतिबन्ध हटाउने विषयमा मन्त्रालय र एलडीपीबीच पनि समन्वय नभएको ठानिएको छ ।सरकारले आगामी असोज ३१ गते हुने संसदीय निर्वाचनपछि अल्पकालीन व्यापार यात्रुलाई प्राथमिकता दिँदै सीमानाका नियन्त्रण क्रमशः खुकुलो बनाउने योजना बनाएको छ । प्रतिबन्धहरूले जापानमा दीर्घकालीन श्रमिक अभावमा दबाब थपिरहेको छ । सन् २०२० पछि जापानमा १ लाख ९४ हजार प्राविधिक प्रशिक्षार्थी आउने योजना थियो, जसमध्ये १ लाख ११ हजार भने प्रवेश गरेका छैनन् ।लगभग १ लाख २० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू महामारी अघि जापानमा वार्षिक रूपमा आउँथे । तर २०२० देखि स्वीकृत भएका १ लाख ९९ हजारमध्ये १ लाख ४७ हजारले जापान प्रवेश पाएका छैनन् । यदि प्रवेश प्रतिबन्ध जारी रह्यो भने, एक वर्ष भित्र व्यवसाय जारी राख्न असम्भव हुनेछ जापानी भाषा विद्यालयका संचालकहरु बताउँछन् ।

 

 

 

अमेरिकाले नोभेम्बर ८ बाट ३ देशका यात्रुहरूका लागि प्रवेश प्रतिबन्धहरू खुकुलो पारेको छ । कोभिड १९ बिरुद्धको खोप लगाएका ति देशका यात्रुहरु अमेरिका प्रवेश गर्नसक्छन् । क्वारेन्टाइनको आवश्यकता पनि छैन । सिङ्गापुरले अक्टोबर १९ देखि अमेरिका र युरोप लगायत आठ देशका खोप लगाइएका यात्रुहरूका लागि क्वारेन्टाइन आवश्यकताहरू हटाएको छ । थाइल्यान्डले नोभेम्बर १ बाट संयुक्त राज्य अमेरिका र चीनलगायत कम्तीमा १० देशका यात्रुहरूलाई क्वारेन्टाइन बिना प्रवेश अनुमति दिने घोषणा गरेको छ । लामो समयसम्म प्रवेश प्रतिबन्ध जारी रहँदा घरेलु अर्थतन्त्रमा ठूलो असर पार्ने चिन्ता जापानी अधिकारीहरुको भनाई छ । यो खोप र अन्य उपायहरूको प्रमाण प्रयोग गरेर पुन खोल्ने बारे सोच्ने समय भएको भन्दै नोभेम्वर अन्त्यसम्ममा जापानले नव प्रवेशिलाइ्र्र खुलाउने अपेक्षा गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित