पारस र भरतमणीको भेटमा के भयो कुरा ?
पारस र भरतमणीको भेटमा के भयो कुरा ?
    • Bell Sanchar

    • ९ कार्तिक २०७८, मंगलवार

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’मा भरतमणी पौडेलले पूर्व युवराज पारस शाहको अभिनय गरे । पारसको गेटअपमा देखिएका भरतमणीको अभिनयलाई दर्शकले खुबै मन पराए । अधिकांशले, भरतमणीले ‘कमेडी च्याम्पियन २’को उपाधि जित्नुको पछाडि पारस शाहको अभिनय मुख्य रहेको टिप्पणी गर्ने गर्दछन् ।

भरतमणीलाई भने पारस शाहले उनको अभिनयको बिषयमा के भन्छन् भन्ने कौतुहलता थियो । भरतले लामो समयदेखि पारस शाहसँग प्रत्यक्ष भेटेर कुराकानी गर्ने अवसर पनि खोजिरहेका थिए ।

उनै, भरतमणीले शुक्रबार काठमाडौंको शेर्पा मलमा पूर्व युवराजसँग भेटेका छन् । पारस निकट व्यक्तिको सम्पर्कमा रहेका भरतमणीले उनकै सहयोगमा पारससँग भेट गरेका हुन् । भरतमणीसँग ‘कमेडी च्याम्पियन’को पहिलो सिजनका प्रतिस्पर्धी सुमन कोइराला पनि भेटमा सहभागी थिए ।

भेटबारे  कुरा गर्दै भरतमणीले भने–‘मलाई देख्ने वित्तिकै उहाँ हाँस्नुभयो । हात मिलाउँदै के छ हालखबर भनेर सोध्नुभयो । पहिलो भेटमा नै उहाँले बर्षौपछि भेट भएको साथी जस्तो व्यवहार देखाउनुभयो । म उहाँको प्रशंसक थिए, भेटेपछि झनै ठूलो फ्यान भएको छु ।’

पारसले भरतमणीले आफ्नो क्यारिकेचर गरेको बिषयमा छोटो प्रतिक्रिया दिए । पारसले भरतमणीको प्रस्तुतिमा रमाइलो प्रतिक्रिया दिदै–‘फन्नी फन्नी । दामी थियो’ भनेका थिए ।

पारस शाहको क्यारिकेचर गरेको टिजर सार्वजनिक हुँदा भरतमणीले थुप्रै व्यक्तिहरुबाट गाली पनि खाएका थिए । धेरैले पारस शाहलाई किन उडाएको भन्दै गाली गरेका थिए । पारससँगको भेटमा भरतमणीले यो कुरा पनि व्यक्त गरे । जवाफमा पारसले भने–‘सबै राम्रो थियो । कमेडी राम्रो थियो । सफलता हात पार्दै गएपछि त खुट्टा तान्ने व्यक्ति भैहाल्छन् नी । आफ्नो काममा ध्यान दिनुपर्छ ।’

भरतमणीका अनुसार, पारसले आफ्नो मात्र नभएर सुमन कोइराला, विक्की अग्रवाल, सुमन थापाको प्रस्तुति पनि हेरेका रहेछन् । पारसको क्यारिकेचरबारे गहिरिएर कुरा नभएको भरतमणीको भनाई छ ।

भरत र सुमनसँगको भेटमा पारसले देशको चिन्ता भने खुबै गरेका थिए । पारससँगको भेटबारे भरतले अनलाइनखबरसँग भने–‘उहाँले देशको चिन्ता खुबै गर्नुहुदोरहेछ । आफू पनि स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा नै रहेको उहाँले बताउनुभयो । तर, देशमा रेफ्री विनाको खेल भैरहेको भन्दै पारस शाहले चिन्ता व्यक्त गर्नुभयो । युवाहरुमा जोश भएपनि व्यवस्थापकहरुले सम्बोधन गर्न नसक्दा अधिकांश युवाहरु विदेश गएको बिषयमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।’

अहिलेका युवाहरुलाई गन्तव्य थाहा भएपनि उनीहरुको जोशलाई देशको नेतृत्व गर्नेहरुले सम्बोधन गर्न नसकेको बिषयमा पारस शाह चिन्तित देखिएको भरतमणीले बताए । ‘देशमा श्रोत र साधन भएपनि त्यसलाई युवाहरुले प्रयोग गर्न नपाएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो’, भरतमणीले भने ।

करिब १ घन्टाको भेटपछि छुट्टिने बेलामा पारसले भरतलाई अब भेट्दै गर्नुपर्छ भनेका थिए । भरतले भने–‘पारस शाहले मलाई पोखरा आएको बेलामा सम्पर्क गर्नुहोला भन्नुभयो ।’

पारसले भरतका थुप्रै अन्तरवार्ता हेरेकाले पनि उनले कसरी आफ्नो भूमिका गरे भन्ने बिषयमा जानकारी लिइसकेका रहेछन् । यसैले, ‘कमेडी च्याम्पियन २’मा भरतले पारसको बिषयमा गरेको क्यारिकेचरको कुराकानी धेरै नभएको भरतले बताए ।

साताकाे चर्चित
सम्बन्धित