मुम्बईमा निषेधाज्ञा, खोप नलगाए बाहिर निस्किन मुस्किल
मुम्बईमा निषेधाज्ञा, खोप नलगाए बाहिर निस्किन मुस्किल
    • Bell Sanchar

    • ३ पुष २०७८, शनिबार

मुम्बई । छिमेकी राष्ट्र भारतको आर्थिक राजधानी मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । एकैदिन सात जनामा ओमिक्रोन संक्रमण फेला परेपछि त्याहा दुई हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो । मुम्बईमा बुधबार सात जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो ।

बिहीबारदेखि डिसेम्बर ३१ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको मुम्बई प्रहरीले जनाएको हो । कोरोना भाइरसलाई फैलिनबाट रोक्न भन्दै फौजदारी कानुन ‘क्रिमिनल प्रोसिजर कोड’को खण्ड १४४ बमोजिम डिसेम्बर १६ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् । बिहीबारदेखि लागू हुने निषेधाज्ञाभर ठूला जमघट गर्न पाइने छैन भने सार्वजनिक भेटघाटमा ५ जनाभन्दा बढी मानिस सहभागी हुन बन्देज लगाइएको छ । त्यस्तै, कुनै पनि समारोह वा कार्यक्रम गर्दा कार्यक्रम स्थलको ५० प्रतिशत क्षमता अनुसार मानिसहरू सहभागी गराउनुपर्ने र आयोजकले पूर्ण कोरोना खोप लगाएको हुनुपर्ने छ । यसबाहेक, पसल, मल, समारोह वा जमघटमा सहभागी मानिसले पूर्ण खोप लगाएको हुनुपर्ने छ ।

सार्वजनिक सवारीमा यात्रा गर्ने मानिसले समेत पूर्ण खोप लगाएको हुनुपर्ने छ । साथै, महाराष्ट्रमा आउने मानिसले समेत पूर्ण खोप लगाएको हुनुपर्ने र ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट देखाउनुपर्ने छ । कोभिडसम्बन्धी नियम पालना नगर्नेलाई कडा कारबाही गरिने प्रहरीले बताएको छ ।प्रहरीले मानिसहरूलाई मास्क लगाउन र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । भारतमा अहिलेसम्म ७३ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । जसमध्ये महाराष्ट्रमा मात्रै ३२ जना रहेका छन् । ओमिक्रोन अहिलेसम्म ७७ देशमा फैलिसकेको छ । बेलायतमा मात्रै यसका १० हजार भन्दा बढी संक्रमित रहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित