दुबई बन्यो विश्वकै पहिलो कागजरहित सरकार
दुबई बन्यो विश्वकै पहिलो कागजरहित सरकार
    • Bell Sanchar

    • ३ पुष २०७८, शनिबार

युनाइटेड अरब इमिरेट्स (यूएई) का राजकुमार शेख हमदान बिन मोहम्मद बिन रसिद अल मक्तुमले दुबई विश्वकै पहिलो पेपरलेस (कागजरहित) सरकार बनेकाे घाेषणा गरेका छन् ।

३५ करोड अमेरिकी डलर बचत गर्दै दुबई सरकार पूर्णरुपमा कागजरहित भएको उनले घोषणा गरेका हुन् । अब दुबई सरकार अन्तर्गतका कुनै पनि कामका लागि कागज प्रयोग गर्नुनपर्ने उनले उल्लेख गरेका छन् ।

दुबई सरकारको सबै प्रकारको आन्तरिक, बाह्य कारोबारलगायत अन्य प्रक्रियागत काम सबै डिजिटल भएका छन्, जसको व्यवस्थापन दुबई सरकारकै डिजिटल प्लेटफर्मले गरिरहेको उनले जानकारी दिए ।

योसँगै दुबईले आफ्नो डिजिटल यात्राको नयाँ सुरुवात गरेको र यो यात्रामा भविष्यलाई लक्षित गर्दै नयाँ अन्वेषणहरू गरिने उनले बताएका छन् ।

चार वर्षपहिले यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मुक्तमले सन् २०२१ पछाडि दुबई सरकारको कर्मचारी र सेवाग्राही कसैले पनि कुनै डकुमेन्ट प्रिन्ट गर्न वा अन्य प्रयोजनका लागि प्रयोग गर्न नपर्ने स्थिति सिर्जना गर्ने बताएका थिए  ।

उनको यही प्रतिबद्धता आज पुरा भएको शेख हमदान बिनले आफ्नो ट्वीटरमा उल्लेख गरेका छन् । अब आउने पाँच दशकमा दुबईको जनजीवन डिजिटल हुने उनले दाबी गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित