माघिमय बन्दै देउखुरीका थारु बस्ती
माघिमय बन्दै देउखुरीका थारु बस्ती
    • Bell Sanchar

    • २८ पुष २०७८, बुधबार

देउखुरी ।  माघि पर्व नजिकिदै गर्दा देउखुरी क्षेत्रका थारुको समुदायका बस्तीहरु यतिबेला माघिमय बन्दै गएका छन् । थारुहरुको सबैभन्दा ठुलो पर्व नजिकिएको छ । जस्ले गर्दा दाङ सहित देउखुरी क्षेत्रका थारु समुदायका विभिन्न बस्ती यतीबेला माघिमय बन्दै गएको हो । थारु बस्तीमा माघी पर्वको तयारीले छपक्कै छोपेको छ । थारु समुदायका युवतीहरु अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटी तयार गर्नमा व्यस्त छन् ।

नयाँवर्षको रुपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल थारु बस्तीमा सुरु भइसकेको छ । थारु समुदायको माघी पर्व आउन केही दिनमात्रै बाँकी छ । पर्व नजिकिएसँगै थारु बस्तीमा चहलपहल बढेको छ । माघी पर्वलाई भव्यरुपमा मनाउने थारु समुदायका मानिसहरु अहिले माघीको तयारीमा जुटेका छन् ।

 

पुरुषहरु माघीका लागि मासुको जोहो गर्न जुटिरहेका छन् । अधिकांश थारु बस्तीमा माघीका लागि नदी, कुलोमा माछा मार्नेलगायत कामको चटारो छ । माघीका लागि जाँड र मासु खानका लागि दुना, टपरी बनाउन थारु युवतीलाई भ्याइनभ्याई भएको छ । माघी थारु समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी गरेको लमही नगरपालिका वडा नम्बर ७ प्रेमलाल चौधरीले बताए । माघीमा आफन्त आउने भएको हुनाले उनीहरुको सत्कारका लागि तयारी सुरु गरेको उनले बताए । ‘माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्दैछौं, चौधरीले भने,—। एक महिना अघिदेखि नै माघीको तयारी सुरु हुने थारु समुदायमा खानाका परिकारहरू पकाउन काठ, दाउरा अनादी चामलको गुलियो जाँड, रक्सी बनाउनुका साथै दुना, टपरी गाँस्ने तोरीको खाने तेल पेल्ने काम गरिन्छ ।’

दाङ सहित देउखुरी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका थारु समुदायका गाउँहरु अहिले माघीमय भएका छन् । पुस अन्तिम दिनबाट सुरु भई माघ दुई गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई विदाइ गर्दै माघ एक अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारु अगुवाहरु बताए । यो पर्वमा थारु समुदायले विगतको गतिविधिको समीक्षा समेत गर्ने गर्छन् । बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने माघी पर्व नै थारु समुदायको मुख्य पर्व भएकाले भव्यरुपमा मनाउने तयारी गरेको राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदी निवासी धनश्याम चौधरीले बताए। माघीमा आफन्तहरु आउने भएकाले उनीहरुको सेवा सत्कारका लागि तयारी भइरहेको उनले बताए । यता गढवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीले पनि आफुहरु माघि पर्वको तयारीमा जुटेको बताए । उनले भने, थारु समुदायको मुख्य पर्व भनेको माघि हो । गाउँ घरमा यसपर्वको तयारी भइरहेको छ । विशेषगरी अझ थारु समुदायका बस्तीहरुमा माघिको रौनक चलिरहेको छ ।’

साताकाे चर्चित
सम्बन्धित