विकास निर्माणमा युवाको सहभागिता बढ्दो
विकास निर्माणमा युवाको सहभागिता बढ्दो
    • Bell Sanchar

    • १७ चैत्र २०७८, बिहीबार

युवाहरु युग परिवर्तनका मेरुदण्ड हुन् । देशको आर्थिक, सामाजिक, राजनीतिक तथा शासकीय पद्धति रूपान्तरणका प्रक्रियामा युवाको भूमिकालाई उच्च महत्व दिँदै आएको पाइन्छ ।

युगानुकूल भविष्यको परिवर्तनका भरपर्दा आधार नै सक्षम युवा भएकाले जिल्लामा हुने विकास निर्माणका काममा उनीहरुको सहभागिता बढ्दै गएको छ । युवाहरुको सहभागिताले विकास निर्माणका योजना पनि समयमै सम्पन्न हुन थालेका छन् भने समुदायप्रति जवाफदेही हुनुपर्ने भएकाले काममा पनि गुणस्तर देखिन थालेको छ ।

बाहिरका कामदार ल्याएर विकास निर्माणका काम गराउँदा समयमै योजना सम्पन्न नहुने र बाहिरका कामदार समुदायप्रति जवाफदेही पनि हुनु नपर्ने भएकाले सम्पन्न भएका अधिकांश योजना गुणस्तरहीन हुने गरेको थियो । स्थानीय युवा नै विकास निर्माणका काममा सहभागिता जनाएपछि यस्ता समस्या न्यूनीकरण हुँदै गएका छन् ।

विगत दुई वर्षयता कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण वैदेशिक रोजगारी गुमाएर गाउँ फर्किएका युवा अहिले गाउँघरमै हुने विकास निर्माणका योजनामा धमाधम काम गरिरहेका छन् । स्थानीय तहले पनि विदेशबाट फर्केका स्थानीय युवालाई गाउँमा हुने विकास निर्माणका काममा पहिलो प्राथमिकता दिएपछि उनीहरुलाई सहज भएको हो । चालु आर्थिक वर्ष अन्त्य हुने समय तीन महिना बाँकी रहँदा जिल्लाका ग्रामीण भेगमा स्थानीय तहका योजना धमाधम निर्माण भइरहेका छन् । त्यसका साथै सङ्घ र प्रदेशका योजनामा  पनि युवाले धमाधम काम गरिरहेका छन् ।

गाउँ फर्किएका युवा विकास निर्माणमा जुट्न थालेपछि बाहिरबाट मजदूर ल्याउनुपर्ने बाध्यता पनि हटेको छ । गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका कारण वडास्तरमा रोजगारी सिर्जना हुन थालेको छ । गाउँकै युवा विकास निर्माणमा जुट्दा योजना निर्माण र कार्यान्वयन गर्न सहज भएको रघुगङ्गा गाउँपालिका–४ दग्नामका वडाध्यक्ष रुकबहादुर गर्वुजाले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो गाउँमा निर्माण हुने विकासका योजनामा स्थानीय युवाको नै संलग्नता भयो भने योजना सम्पन्न गर्न, कार्यान्वयन गराउन र जिम्मेवारी दिन धेरै सजिलो हुँदोरहेछ ।”

स्थानीय युवाको संलग्नतामा दग्नामका ९ वटा योजना निर्धारित समयभन्दा पहिला नै सम्पन्न भएको बताइएको छ । वडामा भित्रिएका विकास योजनाले गाउँमा रोजगारी सिर्जना भएको र युवा दैनिक रुपमा काम गर्न थालेको उहाँले बताउनुभयो । “कतारबाट फर्केको दुई वर्ष भयो, कोरोना भाइरस सङ्क्रमणका कारण फर्केर कतार जान नसकेपछि गाउँमै काम गर्न थालें, अहिले यही बसेर गरेको कामबाट सन्तुष्ट छु ।” रघुगङ्गा गाउँपालिका– १ का सोनाम विकले भन्नुभयो, “गाउँमा हुने विकास निर्माणका योजनाले गाउँको विकास पनि भएको छ र हामीजस्ता युवाले रोजगारी पनि पाएका छौं ।”

पालिकाबाट विनियोजन हुने बजेटका योजनामा मात्रै होइन, जलविद्युत् र सडकलगायत ठूला विकास निर्माणका योजनामा पनि विदेशबाट फर्केर आएका युवाको संलग्नता बढेको छ । एकातिर युवाहरुले रोजगारी पाएका छन् भने अर्कातिर गाउँमा आएको पैसा बाहिरिने दरमा पनि कमी आएको छ । विकास निर्माणका योजनामा स्थानीय युवाको सहभागिता बढेपछि जनप्रतिनिधिलाई पनि निकै सजिलो भएको रघुगङ्गा गाउँपालिका–१ का  वडाध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो । युवाले काम गर्न थालेपछि योजना कार्यान्वयनमा सहजता भएको उहाँको भनाइ छ ।

विकास योजनाका कारण गाउँमा बेरोजगारीको समस्यामा समेत कमी आएको स्थानीयवासी बताउँछन् । पहिला पहिला काम खोज्न सहरबजारतिर धाउनुपर्ने बाध्यता रहेकोमा आजभोलि गाउँमै सञ्चालन भएका विकास आयोजनामा काम गर्न भ्याइनभ्याइ भएको बेनी नगरपालिका–२ बगरफाँटका विदुर किसानले बताउनुभयो ।

कोरोना महामारीका कारण रोजगारी गुमाएर गाउँ फर्किएका युवाले योजनाको जिम्मा लिएर काम गर्न थालेपछि कामको गुणस्तरसमेत राम्रो भएको र समयमा नै योजना सम्पन्न भएका बेनी नगरपालिका–२ का वडाअध्यक्ष हीराबहादुर थापाले बताउनुभयो ।

दुई महिनापछि एक्सरे सेवा सुचारु

म्याग्दीको बेनी अस्पतालमा अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि पुनः सञ्चालनमा आएको छ । अस्पतालमा रहेका एउटै डिजिटल एक्सरे मेसिन बिग्रिएपछि नवनिर्वाचित बेनी अस्पताल व्यवस्थापन समितिको पहिलो बैठकले अस्पतालको आन्तरिक स्रोतबाट रु १५ लाखमा नयाँ एक्सरे मेसिन खरिद गरी सेवा सुचारु गरेको हो ।

एक्सरे सेवा सुचारु भएपछि सेवाग्राहीले निजी क्लिनिकमा जानुपर्ने बाध्यता हटेको छ । पटक–पटक बिग्रेको एक्सरे मेसिन मर्मत तथा नयाँ मेसिन खरिदका लागि मन्त्रालयसँग अनुरोध गरेको अवस्थामा प्रक्रिया लामो हुने भएपछि व्यवस्थापन समितिबाटै निर्णय गरी खरिद गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट जीतेन्द्र कँडेलले जानकारी दिनुभयो । “सेवा सुचारु भएको छ, हामीले एक्सरे सेवाका लागि थप माग गरेका छौ”, डा कँडेलले भन्नुभयो । एक्सरेको प्रिन्टर ६ महिनादेखि बिग्रेपछि डाक्टरले स्क्यान गरेको इमेजलाई मोबाइलमा तानेर हेरी सेवा दिने गरेकोमा अहिले प्रिन्ट गरेर हेर्न मिल्ने उहाँले बताउनुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले नयाँ एक्सरे मेसिन स्वास्थ्य मन्त्रालयबाट ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयबाट अर्थमन्त्रालयमा स्वीकृतिका लागि गएकाले थप सेवा आउने पनि बताउनुभयो । यसअगाडि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले आधा दशक अगाडि साढे रु ११ लाखमा डिजिटल प्रविधिको एक्सरे मेसिन बेनी अस्पतालमा राखिएको थियो । मोना हङकङले एक्सरे मेसिन मात्र होइन, मर्मतसम्भारका लागि रु ६ लाख ६५ हजारको अक्षय कोष पनि स्थापनासमेत गरिदिएको थियो । तरपनि मर्मतसम्भारमा खर्च गर्न नसकिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा रहेको पुरानो मेसिन मर्मतका लागि अक्षय कोषबाट खर्च गर्न सहयोगदातासँग समेत छलफल भइरहेको जनाइएको छ । अस्पतालमा दैनिक ४०–५० जनाले एक्सरे सेवा लिने गरेका छन् । धु्रबसागर शर्मा रासस

साताकाे चर्चित
सम्बन्धित