फैसला आउँदा नआउँदै रञ्जन फरार
फैसला आउँदा नआउँदै रञ्जन फरार

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको इजलासले दुई वर्षअघि गरेको फैसला बदर भएपछि रञ्जन कोइराला सजाय साढे ११ वर्ष बाँकी

    • Bell Sanchar

    • १३ जेष्ठ २०७९, शुक्रबार

{"caption":"u091cu093fu0932u094du0932u093e u0930 u0909u091au094du091a u0905u0926u093eu0932u0924u092cu093eu091f u091cu0928u094du092eu0915u0948u0926u0915u094b u0938u091cu093eu092f u092au093eu090f u092au0928u093f u0938u0930u094du0935u094bu091au094du091au092cu093eu091f u0938u093eu0922u0947 u0967u0967 u0935u0930u094du0937 u0938u091cu093eu092f u0915u091fu094cu0924u0940 u092du090fu092au091bu093f u0968u0966u096du096d u0938u093eu0909u0928 u096e u092eu093e u0921u093fu0932u094du0932u0940u092cu091cu093eu0930 u0915u093eu0930u093eu0917u093eu0930u092cu093eu091f u092cu093eu0939u093fu0930u093fu0901u0926u0948 u092au0942u0930u094du0935u0921u0940u0906u0907u091cu0940 u0930u091eu094du091cu0928 u0915u093eu0907u0947u0930u093eu0932u093e u0964 u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930","photographer":"","alt_text":""}

पत्नी हत्यामा जन्मकैद पाएका सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको सजाय घटाउने आफ्नै पूर्वफैसलालाई सर्वोच्च अदालतले बदर गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय टंक मोक्तान र कुमार चुडालको इजलासले बिहीबार कोइरालालाई २० वर्षको जन्मकैद नै हुने फैसला गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले दुई वर्षअघि कोइरालालाई जन्मकैद घटाएर साढे ८ वर्ष बनाइदिने फैसला गरेको थियो ।

पत्नी गीता ढकालको हत्या गरी टिस्टुङको जंगलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए । तर, जबरा र केसीको इजलासले २०७७ असार १५ मा पत्नी हत्याको जघन्य अपराध गरे पनि ‘२० वर्ष कैद गर्दा चर्को पर्न जाने चित्तमा लागेको’ भन्दै सजाय घटाउने फैसला गरेको थियो । त्यतिन्जेल आठ वर्ष ६ महिना थुनामा बसेका कोइरालालाई ‘त्यति नै जेल बस्दा पनि सजायको मकसद पूरा हुन्छ’ भन्ने इजलासको ठहर थियो । उक्त फैसलापछि २०७७ साउन ८ मा कोइराला डिल्लीबजार कारागारबाट छुटेका थिए ।

जन्मकैद ठहर भएका कतिपय व्यक्तिको सजाय घटाइदिन सक्ने गरी मुलुकी ऐनले न्यायाधीशलाई अधिकार दिएको थियो । कोइरालाको सजाय घटाउन त्यही स्वविवेकीय अधिकार चरम दुरुपयोग गरेको भन्दै कोभिड महामारीबीच पनि सर्वसाधारणले सडक आन्दोलन गरेका थिए । प्रधानन्यायाधीशसमेतको संयुक्त इजलासको फैसला गैरकानुनी रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि निवेदन दिएको थियो । सार्वजनिक आलोचना र महान्यायाधिवक्ता कार्यालयको निवेदनपछि २०७७ साउन ११ मा सर्वोच्चले फैसला पुनरावलोकन गर्ने आदेश दिएको थियो । पुनरावलोकन गर्ने आदेशपछि जबराविरुद्धको आन्दोलन रोकिएको थियो, त्यसपछि भने उनले लामो समय यो मुद्दालाई पेसीमै चढाएका थिएनन् । प्रधानन्यायाधीश जबराले आफूले गरेको फैसलाविरुद्धको पुनरावलोकनको निवेदनलाई पेसीमै नचढाउने कार्य न्यायिक मूल्य मान्यताविपरीत भन्दै सार्वजनिक आलोचना भएको थियो । गत फागुन १ मा प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गराउँदा यो विषयलाई पनि एउटा कारणका रूपमा उल्लेख गरिएको छ ।

बिहीबार गोला प्रक्रियाअनुसार तोकिएको तीन सदस्यीय पूर्ण इजलासले निलम्बित प्रधानन्यायाधीश जबरासहितको इजलासले गरेको फैसला उल्ट्याइदिएको हो । जसअनुसार अब कोइरालाले थप साढे ११ वर्ष जेल बस्नुपर्ने सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

साबिक इचंगुनारायण–६, काठमाडौंका कोइरालाले सशस्त्र प्रहरीको डीआईजी पदमा कार्यरत रहेकै बेला पत्नी गीता ढकालको हत्या गरेका थिए । काठमाडौं जिल्ला अदालतले २०७१ वैशाख ७ मा उनलाई पत्नी हत्याको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको उक्त फैसलालाई उच्च अदालत पाटनले २०७२ मंसिर २३ मा सदर गरेको थियो । त्यसविरुद्ध कोइराला सर्वोच्च अदालत गएका थिए ।

सर्वोच्चको बिहीबारको फैसलापछि मृतक गीता ढकालका बुबा हरेराम ढकालले आफूहरूले बल्ल न्याय पाएको अनुभूति गरेको बताए । ‘पहिले प्रधानन्यायाधीश जबराको फैसलाले न्याय मारेको थियो । नेपालको कानुनअनुसार हुनै नसक्ने फैसला गरेर उनले अपराधीको सजाय घटाइदिएका थिए,’ हरेरामले भने, ‘न्याय मार्ने पुरानो फैसला आज (बिहीबार) उल्टिएपछि हामीले न्याय पाएको महसुस गरेका छौं ।’

गीताको हत्या मुद्दामा कोइरालासँगै मुछिएकी तारा रेग्मीले सर्वोच्चको फैसला एकतर्फी बहसमा मात्रै आधारित भएको र आफूहरूका कानुन व्यवसायीले प्रतिरक्षाको मौका नै नपाएको बताइन् । ‘टंक मोक्तान श्रीमान्ले पुनरावेदन अदालतमा हुँदा कोइरालाको अर्कै एउटा मुद्दामा आदेश गर्नुभएको रहेछ, त्यसैले यो मुद्दा उहाँले हेर्न मिल्दैन भनेर हाम्रा वकिलहरू पहिल्यै हिँड्नुभयो,’ उनले भनिन्, ‘साँझ पौने पाँच बजे मुद्दाको पालो आयो । मैले मोक्तान श्रीमान्ले मुद्दा हेर्न मिल्दैन भनेर जनाएँ पनि । तर, उहाँले हेर्न मिल्छ भनेर सुनुवाइ सुरु गर्नुभयो । सरकारी वकिलले बहस सकुन्जेल हाम्रा वकिल आएका थिएनन् । एकतर्फी बहस सुनेरै फैसला भयो ।’

२०५० सालमा बिहे गरेका कोइराला र गीताबाट दुई छोरा जन्मिएपछि उनीहरूको सम्बन्ध बिग्रन थालेको थियो । कोइरालाले गीतामाथि सम्बन्धविच्छेदका लागि दबाब दिँदै अंश चलान मुद्दा हालेका थिए भने गीताले रञ्जनमाथि मानाचामल मुद्दा हालेकी थिइन् । गीता बूढानीलकण्ठ–५ मा बस्थिन् । कोइराला एकवर्षे नेसनल डिफेन्स कोर्सका लागि २०६८ भदौमा चीन गएका थिए । चार महिनापछि उनी बिदामा नेपाल फर्किए । उनी पुस २७ मा गीताको घर पुगी कान्छो छोरा लिएर हिँडेका थिए । गीताले आफ्ना बाबु हरेरामलाई त्यसबारे जानकारी दिएकी थिइन् । २०६८ पुस अन्तिम साता गीता सम्पर्कविहीन भइन् । खोजी गर्दा पनि नभेटिएपछि हरेरामले ‘रञ्जनले छोरीको दाइजो र पेवा हत्याउनका लागि सम्बन्धविच्छेदको दबाब दिँदै आएको, बारम्बार मानसिक र शारीरिक यातना दिएको भन्दै उनलाई बन्धक बनाएर राखेको हुन सक्ने’ आशंकासहित २०६८ माघ ६ मा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिए । दुई दिनपछि गीताको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहेको खबर पाएका हरेरामले छोरीको हत्यामा जिम्मेवार रहेको भन्दै कोइरालाविरुद्ध अर्को जाहेरी दिए ।

अनुसन्धान हुँदै जाँदा कोइरालाले पुस २७ मै गीताको हत्या गरेको र मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपथको मेत्राङ भन्ने स्थानमा जलाएको पुष्टि भयो । माघ ८ मा नागढुंगामा आफैंले चलाएको बा८च ५४०८ नम्बरको गाडीसहित कोइराला पक्राउ परे । उनले आफू निर्दोष रहेको दाबी गरे पनि त्यसमा प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको इजलाससमेत सहमत भएको थिएन । कोइरालाले नै गीताको हत्या गरेको ठहर्‍याए पनि उक्त इजलासले कैद घटाइदिएको थियो । गीताको हत्यामा रञ्जनलाई नै जिम्मेवार ठहर्‍याएपछि पनि उनको सजाय घटाइदिने फैसलालाई बिहीबार सर्वोच्च अदालतले सच्याएको हो ।

फैसलालगत्तै फरार

सर्वोच्च अदालतले यसअघिको आफ्नै फैसला उल्टाउँदै जन्मकैदको सजाय कायम गरिदिएपछि डीआईजी रञ्जन कोइराला फरार भएका छन् । कारागारबाट २ वर्षअघि छुटेका कोइरालालाई फरार सूचीमा राखेर पक्राउ गर्न नेपाल प्रहरीले देशभरका संयन्त्रलाई सक्रिय पारेको हो ।

अघिल्लो फैसला उल्टिने गरी बिहीबार भएको फैसलाको केही अघिसम्म कोइराला सर्वोच्च अदालतमै थिए । सर्वोच्चबाट बाहिरिएपछि मोबाइल फोन स्वीच अफ गरेर सम्पर्कविहीन बनेका हुन् । ‘उहाँ (रञ्जन) बिहीबार दिउँसो सर्वोच्च अदालतमै पुग्नुभएको थियो, फैसला आउँदा भने बाहिरिसक्नुभएको थियो । त्यस बेला मेरो उहाँसँग छोटो कुराकानी हुँदा अब के गर्ने भन्नुभएको थियो,’ गीता ढकालको हत्या अभियोगमा रञ्जनसँगै मुद्दा खेपेकी तारा रेग्मीले बिहीबार राति कान्तिपुरसँग भनिन्, ‘बानेश्वर घर जान्छु भनेर हिँड्नुभएको हो, त्यसपछि मोबाइल अफ छ, कुराकानी हुन पाएको छैन ।’

रेग्मी, कोइराला र उनका छोरा ललितपुरको सानेपास्थित सनराइज अपार्टमेन्टमा बस्दै आएका थिए । कोइरालाको बूढानीलकण्ठ, इचंगुनारायण र बानेश्वरमा घर छ । उनको पुर्ख्यौली घर पोखरा हो । पछिल्लोपटक २०७७ साउन ८ मा डिल्लीबजार कारागारबाट मुक्त भएपछि भने उनी कहिले सानेपा, कहिले बानेश्वर र इचंगुनारायणलगायत स्थानमा बस्ने गरेको स्रोत बताउँछ ।

कोइरालालाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी कार्यालयहरूलगायतबाट प्रहरी खटिएका छन् । उनी भाग्न सक्ने आशंकामा नेपाल–भारततर्फका सीमा नाकामा पनि निगरानी कडा बनाउन प्रहरी प्रधान कार्यालयले मातहत युनिटलाई निर्देशन दिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले सर्वोच्च अदालतको बिहीबारको फैसलापछि कोइरालालाई फरार सूचीमा राखेर खोजबिन अघि बढाइएको बताए । प्रवक्ता केसीले भने, ‘अदालतको फैसला कार्यान्वयनका लागि औपचारिक माध्यमबाट पत्र आउँदै गर्छ तर हामीले विषयको गाम्भीर्यलाई समेत मध्यनजर गरेर रञ्जन कोइरालालाई पक्राउ गर्न संयन्त्रहरू परिचालन गरिसकेका छौं ।’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले पनि कोइरालालाई पक्राउ गर्न संयन्त्र परिचालन भइसकेको बताए । ekantipur

साताकाे चर्चित
सम्बन्धित