पालिकाको नेतृत्वमा अधिकांश युवा   
पालिकाको नेतृत्वमा अधिकांश युवा   
    • Bell Sanchar

    • १४ जेष्ठ २०७९, शनिबार

राजनीतिमा युवाको वितृष्णा देखिए पनि बागलुङमा धेरै युवाहरु सक्रिय राजनीतिमा छन् । उनीहरु राजनीतिबाटै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिकाको नेतृत्व तहसम्म पुगेका छन् ।केही महिनाअघि सम्पन्न नेपाली कांग्रेस, नेकपा र नेकपा माओवादी केन्द्रको महाधिवेशनले पनि राजनीतिमा युवाको आकर्षण बढाएको र त्यसलगत्तै भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमा युवाहरु नै पालिकाको नेतृत्व तहमा पुगेका हुुन् ।

स्थानीय तहको निर्वाचनमा बागलुङ जिल्लामा निर्वाचित धेरै युवामध्ये केही गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा केही नगरपालिकाको प्रमुख र उप्रमुखमा निर्वाचित भएका छन् । केही भने वडाध्यक्ष र वडा सदस्यमा पनि निर्वाचित भएका छन् ।

बागलुङमा सबैभन्दा कम उमेरमा पालिकाको नेतृत्व तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले गर्नुभएको छ । उहाँ लोकप्रिय भएपछि पुनः पालिकाको नेतृत्वमा दोहोरिनुभएको हो । यसभन्दा अगाडि पनि अध्यक्ष बनेर पालिकाको नेतृत्व सम्भाल्नुभएका बुढामगर अहिले ३५ वर्ष पुग्नुभयो । यसभन्दा अगाडिको निर्वाचनमा निर्वाचित बुढामगरले युवा जोस र जागरका साथ विकट तमानखोलालाई विकासको गतिमा अगाडि बढाउँदै आउनुभएको थियो ।

पालिका उपप्रमुखमध्ये सबैभन्दा कान्छो उपप्रमुख ढोरपाटन नगरपालिकाका नवनिर्वाचित उपप्रमुख धनबहादुर कायत (कल्याण) हुनुहुन्छ । उहाँ ३३ वर्षमै नगरउपप्रमुख हुनुभएको हो । केही महिना अगाडि भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट ढोरपाटन नगरपालिकाको सभापतिमा निर्वाचित कायत विद्यार्थी कालदेखिनै राजनीतिमा होमिनुभएको थियो । उहाँ पहिचान विहीन समुदायको पहिलो पालिका नेतृत्वमा पुग्ने युुवा हो ।

चालिस वर्ष मुनिका पालिका प्रमुख तथा उपप्रमुख बागलुङमा धेरै नै छन् । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा पनि युवा नेतृत्वमै पर्नुहुन्छ । यसभन्दा अगाडि पनि गाउँपालिकाको अध्यक्ष भएर नेतृत्व गर्नुभएका उहाँ अहिले ३८ वर्षको हुनुभयो । शर्मा पनि बरेङ गाउँपालिकाको विकासमा निरन्तर लाग्नुभएका कारण पालिका नेतृत्वमा दोहोरिनुभएको हो । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बडिगाड गाउँपालिकाका उपप्रमुख भिमशेन वन र तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्याल पनि युवा हुनुहुन्छ । उहाँहरु ३८ वर्ष पुग्नुभएको छ । जिल्लाकै एक मात्र महिला पालिका प्रमुखमा निर्वाचित हुनुभएका बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी ४१ वर्षको हुनुहुन्छ । उहाँ यसअघिको निर्वाचनमा पराजित हुनुभएको थियो । बागलुङ नगरपालिकाको उपप्रमुखमा निर्वाचित राजु खड्का पनि युवा नै हुनुहुन्छ । पालिका प्रमुख मात्रै हैन ८५ वटा वडा रहेका बागलुङमा अधिकांश वडाध्यक्ष युवा नै निर्वाचित भएका छन् ।

गलकोट नगरपालिका–५ का वडाध्यक्ष पवन हमाल जिल्लामै सबैभन्दा कान्छो वडाध्यक्षमा पर्नुहुन्छ । उहाँ २७ को उमेरमा वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । जिल्लामा ३० वर्षभन्दा माथि र ४० वर्ष मुनिका जनप्रतिनिधि धेरै छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बुढापाको अनुभव र सुझावलाई आत्मसाथ गर्न सके विकास गर्न सकिने अनभुव सुनाउनुहुन्छ । अघिल्लो कार्यकालमा बुढापाका र पूर्वजनप्रतिनिधिहरुको सल्लाह सुझाव र समन्वयमा विकासका गतिविधिलाई चुस्त बनाइएको र यो कार्यकालमा पनि त्यसरी नै अगाडि बढ्ने अध्यक्ष बढामगर बताउनुहुन्छ ।

युवा जोसले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने र उनीहरुमा नयाँ र पृथक योजना हुने उहाँको भनाइ छ । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा पनि पाका पुस्ताको प्रेरणाबाट युवाले परिवर्तन ल्याउन सक्ने बताउँदै बुढापाकामा धेरै ज्ञान हुने र उनीहरुबाट सिकेका कुरा व्यवहारमा लागू गर्न सके समाज रुपमान्तरमा टेवा मिल्ने बताउनुहुन्छ । यस अगाडिको कार्यकालमा उनीहरुसँग सुझाव लिएर विकास निर्माणमा जुटेकाका कारण आफू सफलतातर्फ अगाडी बढेको उहाँको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित