अध्यक्ष दाहालसँग काठमाडौँ महानगरप्रमुख बालेन्द्रको भेट   
अध्यक्ष दाहालसँग काठमाडौँ महानगरप्रमुख बालेन्द्रको भेट   
    • Bell Sanchar

    • २१ जेष्ठ २०७९, शनिबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गर्नुभएको छ ।

ललितपुरको खुमल्टारस्थित दाहाल निवासमा भएको भेटवार्तामा उहाँले अध्यक्ष दाहालसँग काठमाडौँ महानगरको समग्र विकासका सन्दर्भमा कुराकानी गर्नुभएको छ । महानगरको विकासका सन्दर्भमा विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग भेटवार्ता गर्ने क्रममा उहाँले आज अध्यक्ष दाहालसँग भेटघाट गर्नुभएको हो ।

भेटमा प्रमुख शाहले आफू स्वतन्त्र भएकाले सबै दलसँग काम गर्न सजिलो रहेको जानकारी दिँदै फोहर व्यवस्थापनलगायतका कामको थालनी भएको जानकारी गराउनुभएको अध्यक्ष दाहालका प्रेस सहयोगी सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले माओवादी पार्टीले पनि युवालाई समेटेर अघि बढेको र यसपालीको स्थानीय तह निर्वाचनमा पनि युवाहरु नै बढी विजयी भएको जानकारी दिँदै युवाको विकास अभियानमा साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ ।

शाहको सचिवालयका अनुसार काठमाडौँमा उहाँको विजय नै आम नेपालीको विजय भएको उल्लेख गर्दै कुनै एउटा पार्टीगतभन्दा पनि मतदाताको सम्मानका लागि विकासका काम गर्न अध्यक्ष दाहालले शुभकामना दिनुभएको छ । अध्यक्ष दाहालले धरान, काठमाडौँलगायतमा स्वतन्त्र उम्मेदवार विजयी हुनुले मुलुकमा नयाँ क्रान्तिको शुरुवात भएको बताउनुभएको सचिवालयले जनाएको छ ।

भेटपछि राससँगको कुराकानीमा प्रमुख शाहले अध्यक्ष दाहालसँगको भेटमा आफूले विकासको काममा निरन्तरता दिने, विकासको एजेण्डा बोक्न सक्ने र दृष्टिकोण भएका व्यक्तिलाई राजनीतिमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएको जानकारी दिनुभयो । यसअघि प्रमुख शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसक्नुभएको छ ।

साताकाे चर्चित
सम्बन्धित