भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन सुरु  
भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन सुरु  
    • Bell Sanchar

    • २४ जेष्ठ २०७९, मंगलवार

गोरखाका दुई पालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनको काम सुरु भएको छ । यसअघि लगत सङ्कलनमा छुटेकाका लागि जिल्लाको बारपाक सुलिकोट गाउँपालिका र सहिद लखन गाउँपालिकाले पुनःलगत सङ्कलनका लागि निवदेन लिने कार्यको थालनी गरेको आयोगका जिल्ला अध्यक्ष कमला नहर्कीले जानकारी दिनुभयो ।

“स्थानीय तहको निर्वाचनका कारण गएको वैशाख ९ गतेदेखि यी दुई पालिकामा लगत सङ्कलनको काम रोकिएको थियो”, उहाँले भन्नुभयो, “रोकिएको काम पुनः सोमबारेदेखि सुरु गरिएको छ ।’’ बारपाक सुलिकोट गाउँपालिका र सहिद लखन गाउँपालिकामा स्थानीय तहको निर्वाचनका लागि रोकिएको लगत सङ्कलनको कामलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । उहाँका अनुसार तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगमा परेका निवेदनबाहेक छुटपुट भएकाको लागि आयोगले दोस्रो पटक सूचना प्रकाशन गरेर निवदेन आह्वान गरेको हो । आयोगले सुकुम्वासी, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरुका लागि फरक–फरक फारमको ब्यबस्था गरेको छ ।

आयोगले उपलब्ध गराएको फरक फरक ढाँचाको फारम सहितको विवरण भरेर वडा कार्यालयले संकलन गरी स्थानीय पालिकामा पठाउनेछ । पालिकाले निवेदन प्रमाणित गरी आयोगमा पठाउने व्यवस्था रहेको अध्यक्ष नहर्कीले जानकारी दिनुभयो । यसका लागि कर्मचारी व्यवस्थापनको काम सम्बन्धित पालिकाले गर्दै आएको उहाँको भनाइ छ । स्थानीय तहले त्यो सूची प्रमाणित गरेर पठाएपछि आयोगले नापी कार्यालय सँगको समन्वयमा जग्गा नाप गरी प्रमाणीकरणको काम गर्ने अध्यक्ष नहर्कीले जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित