सत्ता गठबन्धनको ध्यान निर्वाचनतिर
सत्ता गठबन्धनको ध्यान निर्वाचनतिर
    • Bell Sanchar

    • ६ असार २०७९, सोमबार

पाँच दलीय सत्ता गठबन्धनलाई थप मजबुत बनाउँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने समझदारी शीर्ष नेताबीच भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको तीन दलका शीर्ष नेताको बैठकले स्थानीय तह निर्वाचनमा भएका कमजोरी सच्याउँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीमा जुट्ने निष्कर्ष निकालेको हो। बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का शीर्ष नेता उपस्थित थिए।

सत्ता गठबन्धनका अन्य दुई घटक जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका नेता भने बैठकमा उपस्थित भएनन्। बैठकपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई थप मजबुत बनाएर अघि बढ्ने समझदारी भएको जानकारी दिए।

संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने तयारी रहेको बताउँदै उनले भने, ‘तीन दलका नेताले छलफल गर्‍यौं। गठबन्धन जोगाउँदै चुनावको तयारी गर्ने हाम्रो निष्कर्ष छ।’

स्थानीय तहको निर्वाचनपछि वर्तमान सत्ता गठबन्धन टुट्ने चर्चा र विश्लेषण भइरहेका बेला शीर्ष नेताहरूबीच प्रदेश र प्रतिनिधिसभा निर्वाचनको गृहकार्यमा जुट्ने सहमति भएको हो। सरकारले आगामी कात्तिक २७ वा मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्नेगरी गृहकार्य सुरु गरेको छ। सत्ता गठबन्धनले स्थानीय चुनावमा भएका कमीकमजोरी केलाउन बृहत् समीक्षा गर्ने भएको छ। ‘गठबन्धनमा समस्या छ, भत्कन लाग्यो भन्ने बाहिरको हल्ला मात्र हो,’ स्रोतले भन्यो, ‘शीर्ष नेताहरू प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि पनि अहिलेको गठबन्धनलाई निरन्तरता कसरी दिन सकिन्छ भन्ने छलफलमा जुट्नुभएको छ।’

बैटकमा नेकपा एसले गरेको परिवर्तन गर्ने निर्णय र जसपाभित्र उत्पन्न समस्याबारे पनि छलफल भयो। गठबन्धन दलहरूभित्रको आन्तरिक समस्याप्रति शीर्ष नेताहरू जानकार नै रहेको बताउँदै स्रोतले भन्यो, ‘दलीय स्वार्थले गठबन्धन, सरकार र मुलुक अप्ठेरोमा पर्नुहुँदैन भन्नेमा सबै शीर्ष नेता सहमत हुनुहुन्छ।’ अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा तालमेलको कुरा निकै पेचिलो बनेको भन्दै त्यसको समीक्षा पाँचदलीय बैठकमा हुने जानकारी दिए।

पछिल्ला दिन निरन्तर छलफलमा जुटेका तीन दलका शीर्ष नेताको आइतबारको बैठकमा नेपाल अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोगाम’ (एसपिपी) मा सहभागी हुन लागेको र प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा सम्झौता हुन लागेको भन्ने विषयमा पनि छलफल भयो। प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौता गर्ने कुनै तयारी नभएको बताएका थिए।

साताकाे चर्चित
सम्बन्धित