श्रीमान्-श्रीमतीलाई नै संसद् नबनाउन माग
श्रीमान्-श्रीमतीलाई नै संसद् नबनाउन माग
    • Bell Sanchar

    • २१ असार २०७९, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जारी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्य जम्बो बनाएको भन्दै नेतृत्वको चर्को आलोचना भएको छ । पार्टी संगठनलाई चुस्त दुरुस्त बनाउन सानो कमिटी निर्माण गर्नुको सट्टा मापदण्डबिना नै केन्द्रीय कमिटीको संख्या ठूलो बनाइएको भन्दै आलोचना भएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने केन्द्रीय सदस्यहरूले अपमानित भएर गठबन्धनमा पक्षमा बस्न नहुने सुझाव दिएका छन् । स्थानीय निर्वाचनमा गठबन्धन गर्दा कांग्रेसबाट धोका भएको बताउँदै कन्द्रीय सदस्यहरूले त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरूले चुनावलाई लक्षित गरेर पार्टीले प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिएका हुन् । औचित्य पुष्टि नभएसम्म २०६३ साल यता चार पटक संसद् भएकालाई यसपटक उम्मेदवार नबनाउने निर्णय लिनुपर्ने माग केन्द्रीय सदस्यहरूले गरेका छन् । एक केन्द्रीय सदस्यले भने–‘पार्टीमा श्रीमान्÷श्रीमती नै संसद बनाउने गलत निर्णय यसपटक गर्नुहुन्न ।’

बैठकमा पदाधिकारी चयनमा भएको ढिलाइबारे पनि आवाज उठेको छ । केन्द्रीय नेता सुदन किराँतीले पदाधिकारी त टुंग्याउन नसक्नेले कसरी देश बनाउन सक्छ भन्दै नेतृत्वप्रति आलोचना गरेका छन् । पुषमा महाधिवेशन गरेको माओवादीले हालसम्म पनि पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन ।

नेता मुक्ति प्रधानले पार्टीका नेताहरू सहरमुखी भएको तर नतिजा भने त्यही सहरमा कमजोर भएको बताउनुभयो । प्रधानले पार्टीलाई उपत्यकामा बलियो बनाउनका लागि स्पष्ट नीति बनाइनुपर्नेमा जोड दिँदै उपत्यका बाहिरका केन्द्रीय नेताहरूलाई उपत्यकामा बस्न कडाइ गरेर गाउँमै केन्द्रित गरिनुपर्ने माग गर्नुभयो ।

पार्टीको सिगो नेतृत्व जुन ढंगले निर्माण हुनुपर्ने हो त्यो अनुसार हुन नसकेको बताउँदै प्रधानले भन्नुभयो–‘अध्यक्ष प्रचण्ड र अरू नेताहरू बीचको ग्यापिङ धेरै ठूलो भइसकेको छ । यस विषयमा गम्भीर भएर सोच्न जरुरी छ ।’केन्द्रीय सदस्यहरूले पार्टी सञ्चालन गर्न कार्यविधि बनाइनुपर्ने, ७ सय ५३ वटा पालिकामा केन्द्रीय सदस्यलाई खटाउनुपर्ने, स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गरिनुपर्ने धारणा पनि राखेका थिए । आइतबारबाट शुरू भएको जारी बैठकमा प्रचण्डले १० पानाको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित