नगरकोटका वडाध्यक्षले कुर्सी र टेबल राखेर सडकमै कार्यालय खोले
नगरकोटका वडाध्यक्षले कुर्सी र टेबल राखेर सडकमै कार्यालय खोले

यो बाटो छिटो बन्नु पर्ने नभए ठेक्का रद्द हुनुपर्ने उनको माग छ। सडकमै कार्यालय चलाउँदा पनि आफ्नो कुरा सुनुवाइ नभए  विभिन्न चरणमा धर्ना दिँदै जाने उनले बताए।

    • Bell Sanchar

    • २७ असार २०७९, सोमबार

भक्तपुरको चाँगुनारायण नगरपालिका-६ का वडाध्यक्ष धनबहादुर लामाले सडकमै बसेर कार्यालय सञ्चालन गरेका छन्।

भक्तपुर-नगरकोटको सडक नबनाएको भन्दै उनले विरोधमा लामाटोलस्थित सडकमा बसेर कार्यालय सञ्चालन गरेका हुन्। उनी सोमबार बिहान १० बजेदेखि सडकमा कुर्सी र टेबल राखेर बसेका छन्।

सेवाग्राहीहरू पनि सडकमै आइपुगेका छन्। वर्षौंसम्म पनि ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले सडक  नबनाएपछि विरोधस्वरूप आफू सडकमा आउनु परेको उनी बताउँछन्।

‘यो सडक आठ-नौ वर्षदेखि ठेकेदारको लापर्बाही, सरकारको अकर्मण्यताले गर्दाखेरी बनाउन सकिएन,’ उनले भने,‘जसले गर्दा स्थानीय उपभोक्तादेखि नगरकोटमा घुम्न आउने पर्यटकलाई साह्रै अप्ठेरो पर्‍यो। पटक-पटक सरकारका विभिन्न निकायमा  ध्यानाकर्षण गर्दा पनि बन्ने अवस्था देखिएन। त्यसैले सरकारको ध्यानाकर्षण होस् भनेर धर्ना दिएको हो।’

यो बाटो छिटो बन्नु पर्ने नभए ठेक्का रद्द हुनुपर्ने उनको माग छ। सडकमै कार्यालय चलाउँदा पनि आफ्नो कुरा सुनुवाइ नभए  विभिन्न चरणमा धर्ना दिँदै जाने उनले बताए।

‘यो क्रम निरन्तर चलिरहन्छ। आज बसें। आज ध्यानाकर्षण भएन भने विभिन्न चरणको कार्यक्रमहरू ल्याउने हो,’ वडाध्यक्ष लामाले भने,‘कि त समयमै बाटो बनाउनुपर्‍यो नत्र ठेक्का नै रद्द गर्नुपर्‍यो। अरूले काम गर्छन्।’

आफूले पनि नबनाउने र अरूलाई पनि बनाउन नदिएपछि यस्तो अवस्था आएको उनले बताए।

कन्स्ट्रक्सनले ६-७ किलोमिटर जति बनाएको बाटो पनि भत्किसकेको छ। बाँकी रहेका अरू भागको सडकमा त निर्माणको कामै सुरू नगरेको पनि उनले बताए।

‘वर्षातको मौसम छ। यहाँ पूरै हिलो हुन्छ। पानी बगेर सवारीसमेत दुर्घटनामा पर्न सक्ने देखिन्छ,’ लामाले भने, ‘खाल्डाहरू पनि पुर्दैनन्। केही गर्दैनन्। म त सानो निकायको प्रतिनिधि मात्रै हो। यस्तै रह्यो भने नगरपालिकाकै सिंगो टिमलाई यहाँ ल्याउने वातावरण बनाउँछु।’

त्यसरी पनि भएन भने सिंहदरबार, मन्त्रालयमा पुगेर अनशन नै बस्ने उनले बताए।

यसअघि पनि भक्तपुर-नगरकोटको सडकखण्ड नबनेको भन्दै पटक-पटक विरोध प्रदर्शन गर्दै आएका छन्। यसअघि २०७६ साल कात्तिकमा त्यहाँका होटल व्यवसायी तथा स्थानीयहरूले ठेकेदार शारदाप्रसादको तस्बिर कुकुर र बाँदरसँग जोडेर पोल, सवारीसाधनमा टाँसेर विरोध गरेका थिए।

भक्तपुरदेखि नगरकोटको भट्टेडाँडासम्म १५.६६० किलोमिटरको सडक स्तरोन्नतिका लागि उनीसँग २०७१ असार २ गते सम्झौता भएको थियो।

नगरकोटसम्मको बाटो बनाउनका लागि शैलुङसँग ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँमा सम्झौता भएको थियो। सम्झौता अनुसार ठेकेदार २०७३ असार ४ गते सम्ममा निर्माण सम्पन्न गरी बुझाउनुपर्ने थियो। त्यसबेला नबनेपछि कन्स्ट्रक्सनले पटकपटक म्याद थप गर्दै आएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, असार २७, २०७

साताकाे चर्चित
सम्बन्धित