सत्तारूढ गठबन्धनमा आफैं फुट आउँछ: अध्यक्ष केपी शर्मा ओली
सत्तारूढ गठबन्धनमा आफैं फुट आउँछ: अध्यक्ष केपी शर्मा ओली

सत्तारूढ गठबन्धनलाई देशद्रोहीको संज्ञा दिँदै अध्यक्ष ओलीले उनीहरूको एकतालाई फोड्न चाँदीको तरबार बनाउन आवश्यक नरहेको पनि बताए।

    • Bell Sanchar

    • ४ श्रावण २०७९, बुधबार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनमा आफैं फुट आउने दाबी गरेका छन्।

अध्यक्ष ओलीले कतिपयले सत्तारूढ गठबन्धन फोडौं भन्ने गरेको प्रसंग उल्लेख गर्दै त्यो आफैं फुटेर जाने बताएका हुन्।

बुधबार काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेश स्तरीय बृहत् भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गठबन्धनमा आवद्ध दलहरू सबै स्वार्थी पुँजीवादी बाटोमा हिँडेकाले उनीहरू कहिल्यै एकताबद्ध हुन नसक्ने तर्क समेत गरे।

सत्तारूढ गठबन्धनलाई देशद्रोहीको संज्ञा दिँदै अध्यक्ष ओलीले उनीहरूको एकतालाई फोड्न चाँदीको तरबार बनाउन आवश्यक नरहेको पनि बताए।

देश बनाउने पार्टीको महान उद्देश्यमा सो गठबन्धन तगारो बनेकाले आगामी निर्वाचनपछि उनीहरूलाई मिल्काएर फाल्नुपर्ने अध्यक्ष ओलीको चेतावनीयुक्त भनाइ थियो।

उहाँले भने,‘सबभन्दा अगाडि त एउटा प्रतिक्रियावादी मनसाय बोकेको, देशद्रोही मनसाय बोकेको भ्रष्ट गठबन्धन नामको अपवित्र एउटा चिज छ। त्यो अनेक हिसाबले हामीलाई असफल बनाउने आउने, हाम्रा महान उद्देश्यतर्फ तगारो बनेर त्यो बीचमा आउनेछ। त्यसलाई हामीले मिल्काउनु पर्नेछ। कतिले भन्छन्- यो गठबन्धन फौडौं। समयक्रममा गठबन्धन आफैं फुट्छ। स्वार्थी पुँजीवादी बाटो हिँडेर कहिल्यै एकतावद्ध हुने सम्भावना नै हुँदैन। यो स्वार्थको खेल हो यिनीहरूको। उद्देश्यमा, गन्तव्यमा एकता होइन। स्वार्थको एकता हो यो। तसर्थ उनीहरूको स्वार्थको एकता स्वार्थको टकरावमा समाप्त हुन्छ। यो नियम हो। त्यसकारण हामीले धेरै हतार गरेर यिनीहरूको यो एकता फोड्नका लागि एकदम चाँदीको तरबार बनाउनुपर्ने केही पनि आवश्यकता छैन। यो एकता स्वार्थको टकरावबाट फुट्छ आफ्नै हिसाबले।’

ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टी ढिक्का भएर अघि बढ्ने समेत बताए।

स्थानीय तहको निर्वाचनमा जस्तो पार्टीका कार्यकर्ताहरू इमानमा नरहने अवस्था अब नआउने र आगामी निर्वाचनमा आफ्नो पार्टी विजयी हुने उनले बताए।

ओलीले स्थानीय तह निर्वाचनमा जस्तो पार्टीमाथि नै घात नगर्न पनि पार्टीका कार्यकर्तालाई सचेत गराए।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले एमालेले हार्‍यो भनेर गरेको प्रचारको भ्रममा नपर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे।

अर्काको रूखबाट झरेको पात अलिअलि डोकोमा जम्मा गरेकाहरूले स्थानीय तह निर्वाचनमा एमाले समाप्त भयो भन्न नमिल्ने अध्यक्ष ओलीको भनाइ थियो।

 

साताकाे चर्चित
सम्बन्धित