फिल्म खेल्न समय मिलेन, वन मन्त्री प्रदीप यादवले बताए
फिल्म खेल्न समय मिलेन, वन मन्त्री प्रदीप यादवले बताए

मन्त्री यादवले पछिल्लो समय आफ्नो थपिएको जिम्मेवारका कारण मन्त्रालयको कामले नै समय आभाव भएको भन्दै फिल्म छायांकनका लागि समय अभाव भएको बताएका छन्।

    • Bell Sanchar

    • १० श्रावण २०७९, मंगलवार

रमित ढुंगानाको निर्देशनमा बन्न लागेको फिल्म ‘मुस्कान’ का लागि आफ्नो समय नमिल्न वन तथा वातावरण मन्त्री प्रदीप यादवले बताएका छन्।

तेजाब आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक फिल्म ‘मुस्कान’ मा पूर्वप्रधानमन्त्री माधव नेपाल, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मन्त्री प्रदीप यादव लगायत खेल्ने भने पनि वन तथा वातावरणमन्त्री यादव भने कार्यव्यस्तताले नखेल्ने स्पष्ट पारेका छन्।

मन्त्री यादवले पछिल्लो समय आफ्नो थपिएको जिम्मेवारका कारण मन्त्रालयको कामले नै समय आभाव भएको भन्दै फिल्म छायांकनका लागि समय अभाव भएको बताएका छन्।

‘यहाँहरूलाई सर्वविधितै छ। देश,जनताको विकास र वन तथा वातावरण मन्त्रीको नाताले वन जङ्गल र वन्यजन्तुको संरक्षण एवम् संवर्द्धनका लागि गर्नुपर्ने धेरै कामको कार्य व्यवस्तताका कारण फिल्मको छायांकनका लागि समय नमिल्ने स्पष्ट पार्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

समाजलाई सचेत बनाउने जनचेतनामूलक फिल्म बनाउन, अभिनय गर्न विषयमा केही समय अगाडि कलाकार रमित ढुंगानाले प्रस्ताव राखेर विभिन्न चरणमा छलफल भए पनि पछिल्लो समय कार्यव्यस्तताले नभ्याउने उनले बताएका छन्।

‘एसिड पीडित मुस्कान खातुन बहिनीको जीवन कथामा आधारित फिल्मसँगै उनको उज्ज्वल भविष्यसँग जोडिएका अन्य हरेक सामाजिक कार्यप्रति मेरो समर्थन रहनेछ’, उनले अगाडि भनेका छन्।’

मुस्कानमाथिको तेजाब आक्रमणमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नेलाई फिल्ममा समेट्न खोजिएको निर्देशक ढुंगानाले जानकारी दिए।

‘जति बेला मुस्कानमाथि तेजाब आक्रमण भयो, त्यति बेला उनलाई जसले सहयोग गरे, उहाँहरूलाई फिल्ममा समेट्ने प्रयास गरेका हौं। तेजाब प्रहार हुनेबित्तिकै प्रदीप यादवले ठूलो भूमिका निर्वाह गर्नुभएको रहेछ। यस्तो अन्य धेरै पात्रहरूलाई पनि फिल्ममा समेट्ने छौं,’ अभिनेता रमित ढुंगानाले सेतोपाटीसँग भने, ‘उहाँहरूसँग कुराकानी गर्दा हुन्छ भन्नुभएको छ। प्रदीपजीले त फिल्मको स्क्रिप्टका लागि पनि सहयोग गर्नुभएको थियो।’

‘मैले मुस्कानका लागि बुद्ध वाज बर्न इन नेपालको च्यारिटी शो गरेको थिएँ। त्यो शोमा जति पनि पैसा उठ्यो सबै मुस्कानलाई दिइने भनेर गरिएको थियो। शोका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल हुनुहुन्थ्यो। यसरी उहाँ पनि फिल्ममा जोडिनुभएको हो,’ उनले भने।

यो फिल्ममा मुस्कान खातुनकै भूमिका रहने उनले बताए।

‘फिल्ममा मुस्कानमाथि तेजाब प्रहार हुँदाको क्षणलाई पनि समेट्ने कुरा भइरहेको छ। मुस्कानको भूमिकालाई अरू पात्रले न्याय गर्न सक्दैनन्। उनले भोगेको कुरा उनले नै राम्रोसँग प्रस्तुत गर्न सक्छिन् जस्तो लाग्छ। हामीले मुस्कानको अडिसन पनि लिएका थियौं। उनले राम्रो अभिनय गर्ने रहिछिन्,’ उनले भने।

यो फिल्मको छायांकन साउन अन्तिमदेखि सुरू हुनेछ।

सन् २०१९ मा मुस्कान १४ वर्षकी हुँदा तेजाब आक्रमणमा परेकी थिइन्।

साताकाे चर्चित
सम्बन्धित