पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्नेबारे अध्ययन गर्दै अर्थ मन्त्रालय
पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्नेबारे अध्ययन गर्दै अर्थ मन्त्रालय

यो समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने छ ।

    • Bell Sanchar

    • ६ आश्विन २०७९, बिहीबार

काठमाडौं

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय तय गर्न अध्ययन थालेको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन सुरु भएको छ ।

यो समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने छ ।

बिहीबार नाडा एक्स्पो-२०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने, ‘नेपालमा पेट्रोलियम प्रयोग हुने गाडी कहिले, कति वर्षमा रोकिन्छ भन्नेबारे अध्ययन गर्दैछौं, यसका लागि राजस्व सचिवको नेतृत्वमा गठन भएको समितिले खाका बनाउने छ ।’ त्यसपछि सरोकारवालाको सुझाव लिएर कार्यान्वयनमा जाने उनले जानकारी दिए ।

अब नेपाल पनि विद्युतीय सवारीमा रुपान्तरण हुनु पर्ने भन्दै नाडा समेत यसमा तयार हुनु पर्ने अर्थमन्त्री शर्माको सुझाव छ ।

‘अबको एक दशकपछि नेपाल हाइड्रोबाट चल्ने सावारीमा जानु पर्ला, नाडाले त्यता तिर पनि सोच्नुहोस,’ उनले भने ।

अर्थमन्त्री शर्माले अहिलेको नाडा अटो शो प्रदर्शनी मात्र नभई, अहिलेको आवश्यकता के हो, हामी कता तिर जाँदैछौं, हाम्रो अबको कार्यदिशा के हो भन्ने कुरालाई समेत बहसमा ल्याउन महत्वपूर्ण योगदान हुने बताए । यस पटक नाडा अटो शो विद्युतीय सवारीमा केन्द्रित गरिएको छ ।

नेपालको सन्दर्भमा करीव ३ खर्बको पेट्रोलियम इन्धन आयात हुने गरेको सन्दर्भ निकाल्दै अर्थमन्त्रीले १६८ अर्बको डिजेल आयात भएको तथ्यांक सुनाए । यसले नेपालको डलर विदेशिएको भन्दै वातावरणीय प्रदुषण समेत बढाएको उल्लेख गरे । अहिले विश्वभर ग्रिन अर्थतन्त्रको बहस चलिरहेको भन्दै अर्थमन्त्रीले तापक्रम बढ्न नदिने र प्रदुषणबाट उत्पन्न हुने समस्याबाट कसरी बच्ने भन्ने बहस सुरु भएको उल्लेख गरे ।

साताकाे चर्चित
सम्बन्धित