पशुपालनमा केन्द्रित हुँदै दाङका किसान   
पशुपालनमा केन्द्रित हुँदै दाङका किसान   

 उहाँको फार्ममा अहिले दुई सय ६० वटा बङ्गुर रहेका छन् ।

    • Bell Sanchar

    • ९ आश्विन २०७९, आईतवार

घोराही, 
दाङ घोराही उपमहानगरपालिका–८ दुन्द्राका आइतमाली विकको दैनिकी बङ्गुर फार्मबाट सुरु हुन्छ । उहाँ बिहानै फार्ममा पुगेर बङ्गुरलाई दानापानी खुवाउने र खोर सफा गर्नुहुन्छ । यस्तै दिनचर्यामा नै उहाँको तीन वर्ष बितिसकेको छ । आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै रहेको उहाँको अनुभव छ । माडीगाउँपालिका– १ रोल्पा स्थायी घर भए पनि अहिले घोराही झर्नु भएका विक बङ्गुरपालनमा राम्रो सम्भावना देखेर व्यवसाय सुरु गरेको बताउनुहुन्छ ।

उहाँले २०७४ सालको निर्वाचनपश्चात् माडी गाउँपालिकामा कार्यपालिका सदस्यमा रहेरसमेत काम गरिसक्नुभएको छ । बङ्गुरपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएपछि उहाँले यो पेशामा हात हाल्नुभएको हो । थोरै रकममार्फत सुरु गरेको व्यवसाय अहिले रु एक करोड बढीको लगानी पुगेको उहाँ बताउनुहुन्छ । मोर्डन बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर व्यवसाय गर्दै आउनुभएको विकले आफ्नै एक बिघा जग्गामा बङ्गुपालन व्यवसाय थाल्नुभएको छ ।

उहाँको फार्ममा अहिले दुई सय ६० वटा बङ्गुर रहेका छन् । यसअघि सात सय रहेकामा केही समय अगाडि बङ्गुर मरेका कारण केही क्षति पुगेको बताउनुभयो । विकले स्थानीय सात जना व्यक्तिलाई रोजगारसमेत प्रदान गर्नुभएको छ । यो व्यवसायबाट वार्षिक रु पाँच लाखसम्म बचत गरेको उहाँको अनुभव छ ।

रोल्पा रुन्टिगढी गाउँपालिका–३ जवाङका पूर्णबहादुर घर्तीमगरले पनि करिब तीन वर्षदेखि घोराही उपमहानगरपालिका–१२ हापुर डाँडागाउँमा पशुपालन व्यवसाय गर्दै आउनुभएको छ । आफ्नै व्यवसायमार्फत आयआर्जन गर्ने उद्देश्यले घर्तीको परिवार दाङ आएको हो । उहाँले गाईभैँसीबाट दैनिकरुपमा उत्पादन गरेको दूध घोराहीसम्म पु¥याउनुहुन्छ ।

चालिस वर्षीय घर्तीसँग नेपाल प्रहरीको जागिर र करिब पाँच वर्षसम्म वैदेशिक रोजगारीमा काम गरेको अनुभव छ । हाल १० वटा गाई, भैँसी र बोयर बोका पाल्दै आउनुभएका घर्ती १८ कट्ठाजग्गा भाडामा लिएर व्यक्तिगत लगानीबाट सुरु गरेको व्यवसायले राम्रै प्रतिफल दिँदै आएको बताउनुहुन्छ । रोजगारका लागि विभिन्न युवा श्रम शक्ति खर्चिन अन्य देशमा जानुभन्दा आफ्नै गाउँमा आर्यआर्जनको बाटो खोज्न आवश्यक रहेको उहाँको भनाइ छ ।

आफ्नै मेहनत र सीपमार्फत आत्मनिर्भर हुन सकियो भने देश र समाजलाईसमेत फाइदा पुग्ने उहाँ बताउनुहुन्छ । नेपालमा थुप्रै जमिन बाँझो रहेका अवस्थामा युवा कुषि पेशामा आबद्ध भएर आम्दानीको स्रोत बढाउनुपर्ने सुझाव उहाँको छ । पूर्णबहादुर, आइतमाली पौरखी पात्रका रुपमा उदाहरण बन्नुभएको छ । उहाँ जस्तै धेरै युवा स्वरोजगारमा लागेर अहिले राम्रो आम्दानी गरिरहेका छन् । जिल्लाको राजपुर गाउँपालिका–३ खरदरीयामा पनि भैँसी पालन व्यवसायमा एक सय ५० बढी किसान आबद्ध छन् । यहाँ प्राय घरमा सयौँ भैँसी पाल्ने गरिएको छ ।

जसले गर्दा उनीहरुको दैनिकी भैँसीको रेखदेखसँगै दुग्धजन्य वस्तुको बजारीकरणमै बित्ने गरेको तर श्रमको सम्मान हुन नसक्दा र सरकारले उचित बजारको व्यवस्था गर्न नसक्दा यो पेशमा उत्साहका साथ लागेका कतिपय किसान निराश पनि छन् । यसतर्फ स्थानीय सरकारले उद्यमशीलताका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने उनीहरुको अपिल छ ।

घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार २०७३/७४ मा जिल्लाका १० पालिकामा गरेर जम्मा पाँच सय ७४ पशुपालन उद्योग दर्ता भएका छन् । यस्तै २०७४/७५ मा चार सय ४८, २०७५/७६ मा पाँच ७४, २०७६/७७ मा छ सय ५७, २०७८/७९ मा एक हजार एक सय ८१ र २०७९/८० मा एक हजार पाँच सय १६ पशुपालन उद्योग दर्ता भएको कार्यालयले जानकारी दिएको छ । हरेक वर्ष कार्यालयमा हुने बढ्दो उद्योग दर्ताको अभिलेखले पनि पशुपालनमा किसानको आकर्षण बढेको देखिन्छ ।

साताकाे चर्चित
सम्बन्धित