राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली नेपाल आउँदै
राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली नेपाल आउँदै
    • Bell Sanchar

    • २४ पुष २०७९, आईतवार

केही दिनअघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ।

नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली सोमबारसम्म नेपाल आइपुग्ने राहदानी विभागकी निर्देशक एवं प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन्।

उनका अनुसार राहदानी सर्भरमा ‘स्टोरेज’ समस्या देखिएको र कुनै पनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको सामाधानका लागि प्राविधिक टोली झिकाइएको हो। उक्त टोली सोमबारसम्म नेपाल आइपुग्ने भएको छ।

सापकोटाले केही दिनअघि समस्या देखिएपछि यसको समाधान खोज्ने काम जारी रहेको र सुरूको तुलनामा केही सुधार भएको पनि जानकारी दिइन्।

नेपालमा विसं २०७८ मङ्सिर १५ गतेदेखि सुरु भएको विद्युतीय राहदानीको सम्पूर्ण प्राविधिक जिम्मेवारी सो टोलीले पाएको थियो। त्यसैले यस प्रणालीमा सुधारका लागि पनि सोही टोलीलाई झिकाइएको हो।

विभागको ‘सिस्टम’मा समस्या आई राहदानी छपाइ तथा वितरण कार्यमा समस्या देखिएपछि प्रवक्ता तथा निर्देशक सापकोटाले सूचना जारी गर्दै समाधानको पहल भइरहेको जानकारी दिएकी थिइन्।

उक्त सिस्टम पूर्णरूपमा सञ्चालन हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकले मोबाइलमा म्यासेज आएपछि मात्र विभागमा आउन भनिएको छ।

त्यस्तै विभागले अर्को एक सूचना जारी गर्दै राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा ‘अप्वाइन्टमेन्ट’का लागि मिति र समय प्राप्त गर्ने सेवाग्राहीको सोही दिन विवरण रूजु, राजस्व दाखिला र लाइफ ‘इनरोलमेन्ट’ सेवा नियमित सञ्चालन भएको उल्लेख गरेको थियो।

साताकाे चर्चित
सम्बन्धित