डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै
डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै
    • Bell Sanchar

    • २१ चैत्र २०७९, मंगलवार

कञ्चनपुर । 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आएका छन् ।

तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ । उनले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्छन् । १० कठ्ठा बढी जग्गामा उनले तरकारी खेती गरेर वार्षिक रूपमा २ लाखदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

‘यस वर्ष मात्रै २ कठ्ठा जग्गामा आलुको उत्पादन १२ क्विन्टल भएको छ, जसबाट ४८ हजार आम्दानी भयो,’ उनले भने, ‘गोलभेंडा ५० हजार बढीको बिक्री भइसकेको छ, बारीमा अझै बिक्री गरेकोभन्दा बढी गोलभेंडा बिक्री हुन बाँकी छ, हरियो सागपात, खुर्सानी गरी ३० हजार बढीको बिक्री भइसकेको छ ।’

तरकारी खेती गर्दै जाँदा लगाउने आधुनिक तौरतरिका सिक्दै गएकाले उत्पादन प्रतिवर्ष बढ्दै गएको उनको भनाइ छ ।

किसान विष्टले आधुनिक तरिकाले तरकारी खेती गर्ने तालिम भने लिएका छैनन् । ‘अन्य किसानले गरेको तरकारी खेती गर्ने तौरतरिका सिकें,’ उनले भने, ‘विशेषगरी भारतीय किसानले गरेको तरकारी खेती नियाल्न थालें, त्यसैअनुरूप खेती गर्दै जाँदा उत्पादन बढ्न थाल्यो ।’

किसान विष्टले पहिला भारतीय बजारबाट तरकारी खरिद गरेर ल्याएर साइकलमा राखेर बेच्ने गर्थे ।

‘साइकलमा तरकारी ल्याएर बेच्न निकै मेहनत पथ्र्याे, सीमा क्षेत्रमा सुरक्षाकर्मीको खप्की खानुपर्ने दिनचर्या नै हुन्थ्यो,’ उनले भने, ‘तरकारी ल्याएर बेच्नुभन्दा आफैं उत्पादन गरेर बेच्ने निधो गरें, त्यसपछि तरकारी खेती गर्न थालें, पहिलो वर्ष सिक्नमै लाग्यो, त्यसपछिका वर्ष उत्पादन बढ्दै गयो, आम्दानी गतिलो हुँदै गयो ।’

परिवारको घरखर्चसँगै बालबालिकाको विद्यालयको खर्च तरकारी खेतीबाट हुने आम्दानीबाट धानिँदै आएको उनी बताउँछन् ।

उत्पादित तरकारी स्थानीय बजारमा सहजै बिक्री हुने गरेको छ । पहिला मौसमी तरकारी मात्रै उत्पादन गर्दा सोचेजस्तो आम्दानी हुने गरेको थिएन ।

मौसमीसँगै बेमौसमी तरकारी खेतीलाई अगाडि बढाएपछि आम्दानी सोचेभन्दा बढी नै हुने गरेको उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित